
पोखरा स्पोर्टस । नेपाल भलिबल संघको निर्वाचनमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।
संघको नवौं चुनावी साधारण सभाबाट उनी नेतृत्वको प्यानल निर्वाचित भएको हो । चन्दले निर्वाचनमा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । यस अघिको कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरेका छन् । कुल १ सय २८ मत खसेकोमा चन्दले ७६ मत र मास्केले ५२ मत प्राप्त गरेकी थिइन ।
अध्यक्ष चन्दसँगै महासचिव पदमा उनकै प्यानलका रोशन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८५ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी मनविर छन्त्यालले ३९ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा चन्दकै निकट श्यामकृष्ण श्रेष्ठ ७८ मतका साथ विजयी भए । उनले रिता कोइरालालाई पराजित गरेका थिए ।
उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए । उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए ।
यसै गरी सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिएकी थिइन् । सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुनले ७३ मत ल्याउँदै विजयी भए भने प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ निर्वाचित भए ।
त्यसै गरी कार्यसमिति सदस्यमा अन्जु श्रेष्ठ ८५, चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भएका छन् । ११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको थियो ।
