केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट : पोखरा विरुद्ध हेटौडाको सहज जित

पोखरा स्पोर्टस । केपी ओली कप राष्ट्रिय खुल्ला टि–२० पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट कलब विरूद्धको खेलमा हेटौडा बिजयी बनेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले बिजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङजा संग पराजित भएको थियो ।

समुह ‘ए’को खेलमा पहिलो दिन सिइसी काठमाण्डौ संग एक खेल गुमाएको हेटौडा पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भएको छ ।

यस अघि टस जितेर व्याटिङमा उत्रिएको पोखरा महानगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै जोड्न सक्यो । पोखराका लागि सुमित श्रेष्ठले ३ चौकाका साथ ३९ बलमा २६ रनको सर्वाधिक पारी खेल्दा प्रमोद बास्तोलाले १६ बलमा ३ छक्काका साथ २२ रन बनाउँदा दिपक बरालले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो रन छुन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न अशिम श्रेष्ठ र अखिेलश ठाकुरले समान ३/३ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच समेत रहेका अशिमले ३.५ ओभरमा २२ रन खर्चीएर ३ विकेट लिए भने अखिलेशले ३ ओभरमा १३ डटबल राख्दै ८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सम्सुद अल मन्सुरीले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए ।

यता ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो । ३२ बलको सामना गरेका उनले ४ चौका साथ ३२ बलमा ३४ रन जोडे । उनी मार्शल बरालको बलमा प्रमोद बास्तोलाको हातबाट क्याच आउट भए ।

खेलमा पोखराका बलरले भने हेटौडाको मिडल अर्डर ब्याटरहरुलाई क्रिजका लामो समय टिक्न भने दिएनन । अर्का ओपनर सुभाष कशांकार तीन बलको सामना गर्दै सुभाष बास्तोलाको एलविडव्लु हुँदै डकआउट भए । तेस्रो क्रमका युविन बुढाथोकी समेत सून्य रनमा पेभिलियन फर्किए । दुई बलमात्रै खेलेका उनी समिर भुजेलको बलमा सुभाष बास्तोलाको हातमा क्याच थमाए । त्यस्तै सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बास्तोलाले ४ रन बनाउँदा नट आउट रहेका अखिलेश ठाकुरले ८ तथा राम नरेश गिरीले १४ रनको योगदान दिए ।

पोखराका लागि समीर भुजेलले ४ ओभरमा मात्र १५ रन खर्चिएर १ विकेट हात पार्न सफल हुँदा अञ्जन केसीले ३ ओभरमा १० रन खर्चेर २ विकेट र मार्शल बरालले १ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।

यो खेल संगै सिइसी काठमाण्डौ र स्याङजा क्रिकेट क्लबका बीच दोस्रो खेल जारी रहेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close