
पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको बक्सिङ खेलमा सहभागी खेलाडी १८ वर्ष पुगेको हुनुपर्छ । तर गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुन छनोट भएका केहि खेलाडीको उमेर नपुगेको पाइएको छ ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन विभिन्न छनोट प्रक्रिया पार गर्न पर्ने हुन्छ । त्यसको लागि सबै भन्दा पहिला त सहभागी खेलाडीको डकुमेन्ट नै हेरिन्छ । त्यस पछि भने जिल्ला छनोट हुन पर्ने हुन्छ । जिल्ला छनोट पछि प्रदेश छनोट हुदै बल्ल राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ढोका खुल्छ ।
तर गण्डकीमा वक्सिङ छनोट प्रतियोगिता सुरु हुनु भन्दा दुई दिन अगावैबाट विवाद सुरु भएको थियो । जुन विवाद समाधान भए पनि दुई दिन सम्म चलेको प्रतियोगितामा हार र जितको विषयलाई लिएर विवाद चरमोत्र्षमा पुगेको थियो । जुन विवाद उमेरको हद सम्म आइपुगेको छ । एकले अर्को प्रशिक्षक र क्लवको खेलाडीलाई राष्ट्रिय खेलकुदमा सहभागिता हुनबाट रोक्न वक्सिङ विवादमा परेको हो । यति मात्रै होइन जिल्ला छनोट समेत विवादकै कारण रोकिएको थियो ।
गण्डकी प्रदेशले नवौ राष्ट्रिय खेलकुद अन्तरगतको बक्सिङ खेलमा सहभागी हुने खेलाडीको नाम लिस्टमा उमेर नपुगेका खेलाडीको नाम के गर्ने भन्ने बारे अन्योल भएको छ । गण्डकी प्रदेश बक्सिङ संघले खेलाडीको नाम पठाए पछि थप द्विविधा बढेको हो । वक्सिङ संघले सिफारिस गरेका उमेर नपुगेको खेलाडीहरुमा उपाश गुरुङ, मनोमिका राना र निर्तिक घर्ति मगर रहेको छन । उनीहरु मध्यका उपाश गुरुङको नागरिकतामा जन्ममिति २०६१ साउन ३० रहेको छ । मनोमिका रानाको २०६२ फागुन ०७ गते र निर्तिक घर्ति मगरको २०६२ जेठ २५ गते जन्ममिति भएको पाइएको छ । उनीहरुको नागरिकतामा भएको जन्ममितिलाई आधार मान्ने हो भने उनीहरु तिनै जना डिस्क्वालिफाईड छन् ।
गण्डकी प्रदेशबाट सहभागिता जनाउन लागेका नवलपुरका उपाश गुरुङ बेन्टम वेट पुरुष तर्फ ५४ केजी तौलमा प्रथम र बाग्लुङका निर्तिक घर्तिमगर दोस्रो भएका थिए । कास्कीका मनोमिका राना फ्लाई वेट ५२ केजी महिला तर्फ प्रथम भएका थिइन ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न तौल समुहमा गण्डकी प्रदेशले पुरुष ४८ केजी तौलमा कास्कीका दर्शन गुरुङ, तनहुँका सचिन सुवेदी, ५१ केजी तौलमा तनहुँका विपिन गुरुङ,कास्कीका सुलेमान मियाँ, ५४ केजी तौलमा नवलपुरका उपाश गुरुङ, बाग्लुङका निर्तिक घर्ति मगर, कास्कीका सरोज बिकको नाम सार्वजनिक गर्ने तयारीमा रहेको छन् ।
त्यस्तै ५७ केजी तौलमा गार्खाका बुद्ध ग्याम्जो लामा, स्याङजाका शंकर खनाल, तनहुँका पुर्ण बहादुर गुरुङ,बाग्लुङका भुवन दियाली, ६० केजी तौलमा नवलपुरका निश्चल गुरुङ, बाग्लुङका सुरेश कुमार भण्डारी, कास्कीका सौगात कुमाल छनोटमा परेका छन ।
त्यस्तै ६३.५केजी तौलमा कास्कीका सागर परियार, नवलपुरका सुवाष लाउड, ६७ केजी तौलमा नवलपुरका सफल गाहा मगर, तनहुँका मिलन राना मगर, ७१ केजी तौलमा नवलपुरका निसान गुरुङ, तनहुँका राम बहादुर गरन्जा, गोर्खाका सुजन थापा, कास्कीका कुशल कुमाल छनोट भएका छन् ।
त्यस्तै ७५ केजी तौलमा कास्कीका मनिष बिसी, ८० केजी तौलमा कास्कीका सुरज तमाङ्ग, ८६ केजी तौलमा नवलपुरका किरण बिक, कास्कीका आयुष थापा, ९२ केजी तौलमा कास्कीका मुन्ना गुरुङ, आयुष लालचन, ९२ केजी तौल माथि वेटमा कास्कीका दिपेन रानाको नाम आएको छ ।
महिला तर्फको बक्सिङको ४८ केजी तौलमा कास्कीका रमिशा श्रेष्ठ, बाग्लुङका यौनिका गुरुङ, ५० केजी तौलमा कास्कीका सोनिया बरुवाल, बाग्लुङका निता राई, ५२ केजी तौलमा कास्कीका मोनमिका राना, बाग्लुङका अस्मिता थापा, ५४ केजी तौलमा म्याग्दीका एलिना गर्बुजा, कास्कीका सीमा गुरुङ, ५७ केजी तौलमा कास्कीका प्रियंका गुरुङमा छनोट भएकी छिन् ।
त्यस्तै ६० केजी तौलमा कास्कीका जोसिका श्रेष्ठ, ७५ केजी तौलमा कास्कीका अस्मिता बस्नेतको नाम बाहिर आएको छ । खेलाडी छनोट प्रक्रिया सकेर बन्द प्रशिक्षणमा खेलाडीहरुलाई प्रशिक्षण गराउन पर्ने समय भए पनि अहिले सम्म लफडामा नै सिमित भएका छन् ।
के भन्छन सरोकारवाला व्याक्तिहरु
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले केहि दिन अघि खेलाडीको नामावली हामीलाई प्राप्त भए पनि खेलाडीको पुरा विवरण नभएकोले पुरा गरेर ल्याउन निर्देशन दिएको बताए । उनका अनुसार ‘फाईनल लिष्ट आए पछि काटछाँट गर्ने अधिकार हामीलाई भए पनि एकल खेलमा निर्णय स्पष्ट हुने हुनाले जुरीले पठाएको नामलाई नै हामीले फाइनल गर्ने हो ।’ उनले भने– ‘टेक्निकल पाटो हामीलाई थाहा हुदैन ।’
गण्डकी प्रदेश वक्सिङ संघका एक जिम्मेवार व्यक्तिले नवौ राष्ट्रिय खेलकुदको बक्सिङ छनोटको जुरीले पठाएको नामवलीमा असन्तुष्टि व्यक्त गरेका छन् । नियम विपरित यस्तो कार्य भएर उमेर नपुगेको खेलाडी छनोटमा परे आफुले पदबाट राजीनामा दिएर विरोधमा उत्रिने बताए ।
नेपाल बक्सिङ संघ प्रदेश अध्यक्ष राजेन्द्र पहारीले यस विषयमा केन्द्रबाट उमेरको हदबन्दीको बारेमा आफुले कसैले जानकारी नगराएको हुनाले खुल्ला प्रतिस्पर्धाबाट प्रदेश खेलाडी छनोट गराएर नामवली पठाएको बताए । नेपाल बक्सिङ संघ कास्की अध्यक्ष सुमन श्रेष्ठले पनि केन्द्रबाट उमेरको हदबन्दी नखुलाएको तर खेलको अन्तिम नतिजा भईसके पछि उमेरको कुरा निस्केकोमा आश्चर्य व्यक्त गरे ।
नेपालमा उमेरको हदबन्दीले खासै पर्वाह नगरे पनि विदेशमा खेल खेल्नको लागि १८ वर्ष पुरा गरेको हुनुपर्छ । जसको कारणले हाम्रो खेलाडीहरु डिस्क्वालिफाइड हुनु पर्ने अवस्था आउन सक्छ र अवसर बाट बन्चित भईन्छ भन्दै खेल अवधिमा नै यस विषयमा कुरा निकालेको र केहि समय खेल स्थगित समेत गरेको खेल प्रशिक्षक सुरेश मल्लले बताए ।
