गण्डकी प्रदेश स्तरिय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् ।

पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँ संग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजा संग भेट पक्का गरेको थियो ।

फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङजाले रजत पदक प्राप्त गरेको छ ।

पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गर्दै कास्य पदक जितेको हो ।

यता महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न सफल भएको छ । यस अघि भएको सेमीफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वत संग भेट पक्का गरेको थियो । रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो

यसै गरी महिलातर्फ कास्कीले कास्य पदक हात पारेको छ । कास्कीले तनहुँलाई सोझो सेट २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो ।

विजेता खेलाडी तथा टिम लाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्मा, प्रदेश खेलकुद परिषदकी सदस्य शुभ कन्या गुरुङ, गण्डकी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष हरि कुमार श्रेष्ठ, महासचिव टहल सिंह थापा मगर, छनोट समितिका संयोजक नारायण भण्डारीलगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close