
पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्यायमशाला बनाएको छ ।
बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशाला निर्माणको काम सुरु गरेको हो । भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । यो पोखराको पहिलो खुल्ला व्यायामशाला हो ।

व्यायमशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्ययाशालाको अवधारण अगाडि बढाएको बताए । उनले यस्ता व्ययामशाला टोल/टोल हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताए । उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकै पटकमा १४ जनाले व्ययाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खर्चेको छ ।
महानगरपालिकाका अनुसार पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ । उक्त सामग्री चिनबाट खरिद गरी ल्याइएको हो । व्यायमशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायमशालाको व्यवस्थपान गर्नेछ । आदर्श क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बानिया, आदर्श क्लबको पूर्व अध्यक्ष विशाल श्रेष्ठ, सचिव पदम गुरुङले व्यायमशालाका बारेमा बोलेका थिए ।
पोखरा १८ जामुनबोट खुला व्यायमशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ । खुला व्यायमशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायमशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो । १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाको लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए ।
पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने व्ययामशालाका लागि ठेक्का सम्झौता भएको छ । एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्ययामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ । दौडका लागि वरिपरी दौड ट्रयाक समेत बनाइने भएको छ । योगासनका लागि पार्क भित्रै गार्डेन निर्माण गरी व्यवस्थापन गरिने छ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्ययामशालाका लागि योजना बनाएको हो ।
