लामाचौर कप राष्ट्रिय भलिबल : वर्षाले फाइनल खेल प्रभावित, पुरुषतर्फको उपाधि टिमले बाँडे

पोखरा स्पोर्टस । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ ।

बिहीबार बिहान १० बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच हुने भनिएको फाइनल निरन्तर वर्षाका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजले स्थगित गर्ने निर्णय गरेको हो ।

भदौ ११ देखि सुरु भई भदौ १४ गते सम्पन्न गर्ने कार्यतालिका रहेकोमा निरन्तर वर्षाले इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको भलिबल कोर्टमा आयोजित प्रतियोगिता संचालनमा कठिनाइ पर्दै आएको थियो । प्रतियोगिताको अवधि दुई दिन थप गर्दा समेत बिहीबार पनि तेस्रो स्थान र फाइनल गरी दुवै एकै दिन संचालन गर्न कठिन भएपछि आयोजक नवआदर्श सामुदायिक विकास समाज, जुरी निर्णायक तथा सम्बन्धित टिमका टिम व्यवस्थापक, टिम कोच, क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेको हो ।

साथै आयोजकको तर्फबाट अध्यक्ष रेश्मा शेरचन अधिकारीले विज्ञप्ति जारी गर्दै वर्षा बाधक बनेको र इन्द्रराज्य लक्ष्मी माविको पठनपाठनसमेत असर पर्ने भएपछि प्रतियोगिताको फाइनल तथा तेस्रो स्थानको खेल खेलाउन नसकेकोमा क्षमायाचना गरेकी छन् ।

सो निर्णय बमोजिम फाइनलमा पुगेको नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कार वापत जोडेर हुने कुल २ लाख ५० हजार २ सय २२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् । उपाधीसहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको प्रतियोगिताका सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

यसैगरी, तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एफिएफको टिमले तेस्रो स्थान वापत प्राप्त हुने ५० हजार १ सय ११ रुपैयाँ बाँडेर लिएका छन् । तेस्रोलाई प्राप्त हुने ट्रफी समेत थप गरि प्रदान गरिएको आयोजक समितिका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपिएफलाई ३–२ सेटले पराजित गर्दै गण्डकी फाइनल पुगेको थियो । दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–१ सेटमा हराउँदै उपाधि नजिक पुगेको थियो ।

बुधबार भएको महिलातर्फको भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीजको अवसरमा तीज महोत्सवमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएकोमा यसपालि पुरुषतर्फको विधा थप गरिएको थियो । प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको रेफ्री संयोजक टहल सिह थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close