लामाचौर राष्ट्रिय भलिबलमा महिलातर्फ पुलिसलाई उपाधि

पुरुषतर्फ गण्डकी र पुलिस भिड्ने

पोखरा स्पोर्टस । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१७, २५–१७ र २५–१५ मा हराउँदै तेस्रो स्थानको पुरस्कार ५० हजार १११ प्राप्त गरेको छ ।

प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेष बिट घोषित हुँदै जनही ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, विधागततर्फकै अन्य पुरस्कारमा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिस्ट, उत्कृष्ट लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।

विजयीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशी, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारी, पूर्व अध्यक्षहरु संजयकुमार अधिकारी, नवीन भण्डारी, प्रतियोगिता समेत रहेका सुशीलकुमार श्रेष्ठ, युवा परिचालन कमिटी संयोजक शंकर केसी, पुरस्कार प्रायोजक रमेश कार्कीका प्रतिनिधी होम बहादुर थापा आदिले पुरस्कार वितरण गरेका हुन् ।

यसैगरी बुधबार पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । खेलमा २६–२४, २५–१९, १८–२५ र २५–१९ ले हराउँदै गण्डकी प्रदेशको टिमसँग भेट सुनिश्चित गरेको हो । बिहीबार पुरुषतर्फको फाइनल खेल बिहान १० बजे पुलिस र गण्डकीबीच हुनेछ । त्यसअघि बिहान ८ बजे तेस्रो स्थानका लागि आर्मी र एपिएफबीच हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।

विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close