गण्डकी प्रदेशस्तरिय प्रतियोगिताको तयारी पुरा, ३ हजार खेलाडी पोखरामा, तयारीका लागि अझै ३ करोड ५० लाख नपुग, मन्त्री गुरुङले बनाए अनुगमन समिति

पोखरा स्पोर्टस । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अनुरुप भदौ १६ (विहबार)बाट सुरु हुने गण्डकी प्रदेशस्तरिय प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगिताको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी गराएको हो । विहिबार पोखरा रंगशालामा आयोजना हुने प्रदेशस्तरिय प्रतियोगिताकोे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने भएका छन् ।

यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ भनछन्–“हामीले धेरै गरेका छौं । नवौंको लागि छुट्टिएको ६० करोड खोई ? यो हमजाएगाको सरकार हो । कांग्रेस र माओवादी मिलेर बनेको सरकारले सफलता पाउन सकेन ।”

प्रतियोगितामा सहभागिता जनाउन ११ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ३ हजार २ सय २३ जना पोखरा आइसेकेको जानकारी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका हुन् । विहिबार तय भएको उद्घाटन कार्यक्रममा ११ वटै जिल्लाका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल पदाधिकारीहरु, गाजा बाजासहितको सांस्कृतिक झाँकी, मार्च पास कार्यक्रम तय गरिएको सदस्य सचिव गुरुङले जानकारी दिए ।

 प्रदेशस्तरिय प्रतियोगितामा सहभागि खेलाडीहरुको जिल्लागत विवरण निम्नानुसार छ :

सहभागि ३ हजार २ सय २३ खेलाडी मध्येबाट ७ सय ९ जना खेलाडीहरु आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि छनोट हुनेछन् । उनीहरुले ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका ४ सय ४ वटा इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ जना महिला खेलाडीहरुको सहभागिता जनाउनेछन् । प्रदेशस्तरिय प्रतियोगितामा विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने समग्र प्रतियोगिताको खेलको आधारमा स्वर्ण, रजत र कास्यको परिणामलाई मुल्याङ्कन गरी जिल्लालाई प्रथम, द्वितिय र तृतिय घोषणा गरी च्याम्पियन ट्रफी प्रदान गरिने परिषदले जनाएको छ ।

प्रदेश प्रतियोगिताबाट छनोट हुन सफल खेलाडीहरुलाई असोज १ गते देखि असोज २६ गते सम्म बन्द प्रशिक्षणमा राखिने तय गरिएको जानकारी दिंदै सदस्य सचिव गुरुङले छनोट भएका खेलाडीहरुको प्रदर्शनलाई उत्कृष्ट बनाउन करिव ६ खेलका (भलिवल, बास्केटबल, कराते, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते र तेक्वान्दो) करिव १ सय जना खेलाडीहरुलाई मनाङ जिल्लामा (हाई अल्टिच्यूड प्रशिक्षण) असोज १ गतेबाट १५ दिनका लागि प्रशिक्षण दिने लक्ष्य राखिएको बताए ।

परिषदले जिल्ला र प्रदेश छनोट तथा वन्द प्रशिक्षणका लागि कुल खर्च ७ करोड ८५ लाख खर्च हुने अनुमान गरेको छ । परिषदले नवौंको तयारीका लागि अझै ३ करोड ५० लाख अपुग हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । हाल सम्म राष्ट्रिय खेलकुद परिषदबाट ४९ लाख, प्रदेश सरकारबाट ३ करोड ४६ लाख, आव २०७९/०८० का राष्ट्रिय प्रतियोगिताका लागि विनियोजित १ करोड, विभिन्न प्रतियोगिताका लागि विनियोजित १ करोड ३० लाख बाट खर्च गरिने जानकारी गराएको हो । नपुग रकमका लागि प्रदेश सरकार संग पहल गरिने समेत परिषदले जनाएको छ ।

“हामीले पदक विजेता खेलाडीहरुको हौसला बढाउन समेत नगद पुरस्कारको घोषणा गर्नुपर्नेछ भने खेलाडीहरुको बन्द प्रशिक्षण र बसाईलाई अझै व्यवस्थित बनाउन पनि रकम अपुग भएको हो” सदस्य सचिव गुरुङले भने । विशेष प्रशिक्षणको निरन्तरता र भदौ २५ गते देखि ३१ गते सम्म गरिने थप विशेष प्रशिक्षण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेताका खेलाडीहरुको नगद पुरस्कारका लागि रकम अपुग भएको उनले प्रष्टाएका छन् ।

प्रदेश खेलकुदले गत भदौ ९ गते बाट ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिहरुको पहलमा जिल्ला छनोटका प्रतियोगिताहरु सञ्चालन सम्पन्न गरिसकेको छ भने हरेक जिल्लामा जिल्ला छनोटमा खेलाडीहरुको उत्साहप्रद सहभागिता रहेको जनाएको छ । परिषदले गत भदौ ३ गतेबाट १४ वटा खेलका लागि विशेष प्रशिक्षणको सुभारम्भ गरेका थियो । जस अन्तर्गत अन्तगर्त ५ वटा विभिन्न महिला खेलहरु समेत विशेष प्रशिक्षण अन्तर्गत सुरुवात गरिएको थियो ।

पहिलो पटक प्रदेश खेलकुद परिषदले पोखरामा रहेका निजी अस्पतालहरुको छाता संस्था अफिन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल संग समन्वय गरी विभिन्न अस्पताल र नर्सिंङ होमहरुमा ११ वटै जिल्लाका खेलाडीहरुलाई आज बाटनै प्रि मेडिकल परिक्षण गर्ने व्यवस्था मिलाएको जनाएको छ । सोही प्रयोजनका लागि प्रा.डा.वुद्धी बहादुर थापाको संयोजकत्वमा प्रा.डा. भरत बहादुर खत्री र डा.आशिष त्रिपाठी सदस्य रहने गरी तिन सदस्यिय मेडिकल वोर्ड गठन गरेको परिषदले जनाएको छ ।

पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले राष्ट्रिय खेलकुद परिषदले कुनै पूर्वाधार समेत निर्माण नगरी नवौं आयोजना गरेको भन्दै रोष प्रकट गरे । उनले भने–“नवौं आयोजना हुनु गौरवको कुरा हो । तर तयारी पुगेको छैन । न त पूर्वाधार नै निर्माण भएका छन् ।” उनले संघिय सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि छुट्टाएको ६० करोड कहाँ छ भन्ने प्रश्न अघि सार्दै उक्त रकम पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने प्रष्टाए । उनले उक्त रकम सवै प्रदेशहरुलाई तयारीका लागि दिनुपर्ने उल्लेख गरे ।

“अहिले पछिल्लो समयमा जे जती पूर्वाधारका लागि रकम खर्च भएको छ त्यो सबै मन्त्रालयबाट नै भएको छ । तर संघिय सरकार र राखेपबाट कुनै खर्च भएको छैन । यस्तो अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हामीलाई फसाउँनु बाहेक केही होइन । त्यही भएर पनि राष्ट्रिय प्रतियोगिता सार्नु पर्छ भन्ने कुरा मैले उठाउँदै आएको हुँ”, मन्त्री गुरुङले भने । मन्त्री गुरुङले प्रदेशस्तरिय प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनुगमन गर्न पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको संयोजकत्वमा एक अनुगमन समिति गठन गरेको घोषणा समेत गरेका छन् ।

उक्त अनुगमन समितिमा ओम बस्नेत, लक्ष्मण कुँवर, प्रियङ्का वर्मा, शिद्धान्त अधिकारी, मइन बहादुर गर्वुजा, सुजन आचार्य, धन बस्नेत र रामराज अधिकारी रहेका छन् । मन्त्री गुरुङले उक्त अनुगमन समितिले खेलाडीको बसोवासको व्यवस्थापन लगायत खर्चको अनुगमन गर्ने बताए । उनले भने–“मैले गर्ने भनेको नै यहि हो । यो टिमले सबै अनुगमन गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close