
पोखरा स्पोर्टस । पोखरामा जारी लामाचौर कप राष्ट्रिय भलिबलमा पुरुषतर्फ गण्डकी प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न सेमीफाइनलमा गण्डकीले विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सोमबार अर्को विभागिय क्लव त्रिभुवन आर्मीलाई पारजित गर्दै उच्च मनोवलका साथ मैदानमा उत्रिएको गण्डकीले विभागीय टिम एपिएफलाई पहिलो र दोश्रो सेट सुम्पिएको थियो ।
ग(ण्डकीले बाँकी तिन सेटमा पछि फर्किएर हेरेन लगतार एपिएफलाई दवावमा राख्दै खेल आफ्नो पक्षमा मात्रै पारेन फाइनलमा समेत प्रवेश गर्न सफल रह्यो । गण्डकीले पहिलो र दोस्रो सेट समान २२–२५ र २२–२५ ले एपिएफलाई सम्पिएको थियो । तर तेस्रो सेटमा गण्डकी २५–२३ ले जितेर निकाल्दै खेलमा फर्किएको थियो । चौथो सेट २५–१६ र अन्तिम तथा पाँचौ सेट सेट १७–१५ मा जित्दै फाइनलको यात्रा तय गरेको छ ।
दोस्रो सेमिफाइनल भने वर्षाले स्थगित हुन पुगेको छ । विभागीय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका प्रतिस्पर्धामा रहेकोमा पहिलो सेट नसकीदै ठूलो पानी परेको थियो । स्थगित भएको खेल बुधबारमा बिहान हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।
बुधबार नै फाइनल खेल हुनेछ । त्यसअघि तेस्रो स्थानका खेल हुने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ ।
महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
यता २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिलातर्फको भलिबल प्रतियोगितामा महिलातर्फ न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो । पहिलो सेटमा विभागीय आर्मी २८–२६ ले विजयी भएको थियो । पछिल्ला तीन सेट भने पुलिसले २७–२५, २५–११ र २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेटमा भने निकै संघर्षपूर्ण जित हासिल गरेको थियो । दोस्रो सेट २६–२४ ले जित्न सफल भएकोमा तेस्रो सेट २५–११ ले जित्दै लगातार आठौं पटक फाइनल पुगेको हो । प्रतियोगितामा डायमण्डकै रीमा कुँवर वुमन अफ दि म्याच बनिन् ।
