लामाचौर कप राष्ट्रिय भलिबल : एपिएफ, गण्डकी, पुलिस र आर्मी अन्तिम चारमा

पोखरा स्पोर्टस । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह बि मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेल हार्दै घर फर्कियो । समूह ए बाट गण्डकी विजेता र समूह बि बाट नेपाल पुलिस क्लब विजेता बन्दै विजयी यात्रा कायम राखेका हुन् ।

सोमबार गण्डकीले आर्मीलाई ३–२ सेटमा १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले हराएको हो । यस्तै, नेपाल पुलिस र एपिएफबीचको खेलमा पुलिसले ३–२ सेटमै नतिजा आफ्नो पक्षमा पारेको छ । पुलिसले एपिएफलाई २५–१९, १७–१५, २५–२१, २१–२५ र १५–१० मा हराएको हो ।

मंगलबार पुरुषतर्फ पहिलो सेमिफाइनल १२ बजे गण्डकी र एपिएफबीच हुनेछ भने दोस्रो सेमिफाइनल दिउँसो २ बजे नेपाल पुलिस र आर्मीबीच हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।

प्रतियोगितामा महिलातर्फ सहभागी चार टिममध्ये समूह ए बाट नेपाल पुलिस र समूह बी बाट न्यु डायमण्ड समूह विजेता बनेका छन् । सोमबारको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा हरायो । प्रतियोगितामा २५–१६, २५–१९ र २५–९ को नतिजा आएको हो ।

महिलातर्फ नै भएको अर्को खेलमा न्यु डायमण्ड विजयी भयो । डायमण्डले त्रिभुवन आर्मीको टिमलाई सोझो सेटमा २५–१६, २५–२२ र २५–१९ मा हराएको हो । मंगलबार पहिलो सेमिफाइनल खेल बिहान ८ बजे पुलिस र आर्मी तथा दोस्रो सेमिफाइनल बिहान १० बजे न्यु डायमण्ड र गण्डकी प्रदेशको टिम बिच हुने छ ।

गत भदौ ११ देखि सुरु प्रतियोगितामा अविरल वर्षाका कारण खेल तालिका एक दिन पर धकेलिएको छ । फाइनल भदौ १५ गते खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।

बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यस पालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् ।

महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

भदौ १२ देखि सुरु लामाचौर तीज महोत्सव–२०७९अन्तर्गत सोमबार संस्थाका पूर्व सल्लाहकार, कार्य समिति पदाधिकारी, सदस्य, संस्थापकहरु, अल्फा बोर्डिङ स्कुल, इन्द्र राज्य लक्ष्मी मावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज आदिलाई संस्थाको रजत जयन्ती अवसरमा सम्मान गरिएको छ ।

सोमबार अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथम, सूर्योदय बोर्डिङ दोस्रो, कास्की मोर्डनाइज्ड तेस्रो भयो । कुमुदिनी होम्स र बाल कल्याण सान्त्वना भए । प्रतियोगितामा १६ विद्यालयले भाग लिएको संस्थाका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले बताए । १८ टिमले भाग लिएको अन्तर महिला तीजगीतमा इन्द्र राज्य लक्ष्मी मावि प्रथम, उपकार आमा समूह दोस्रो, सफल उद्यमी महिला समूह तेस्रो र शिवालाय तमु आमा समूह सान्त्वना भए ।

कार्यक्रममा रामजी पौडेल, लक्ष्मी नेपाली, दीपक खड्का लगायतका कलाकारले प्रस्तुति राखेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।

संस्थाका अधयक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव थिरबहादुर थापा र सहसचिव तेजप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङको विशेष उपस्थिति थियो । सो अवसरमा प्रदेश खेलकुद परिषद्ले भलिबल प्रतियोगिताको लागि ५ लाख सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close