
पोखरा स्पोर्टस । फुटबल विकासलाई अभियानका रुपमा अिघ बढाउन पोखरा २५ स्थित हेमजाका दुई क्लवहरु अघि बढेका छन् ।
पोखरामा खस्किंदै गएको फुटबल जोगाउन अभियान नै सञ्चालन गर्नुपर्ने भन्दै उनीहरु सहकार्य गर्ने भएका हुन् । हेमजा युनाईटेड र श्री विष्णु पादुका यूवा क्लवका पूर्व पदाधिकारीहरु, हालका पदाधिकारी र पूर्व खेलाडीहरु अभियानको सन्देश दिन गौरी शंकर फुटबल मैदानमा एक मैत्रीपूर्ण फुटबल समेत खेलेको विष्णु पादुकाका निवर्तमान अध्यक्ष रमेश कार्कीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यूवा खेलाडीहरुलाई प्रोत्सहान दिन, पाका खेलाडीहरुबाट सिक्न र सिकाउन यो कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । उनले भने–“हालै हेमजामा युनाइटेड क्लवले गोल्ड कप सफलता पूर्वक सम्पन्न गरेको छ, यसले हेमजा मात्रै नभई पोखरेलीहरुलाई खुसीको सन्देश पनि दिएको छ ।” उनले यस्ता प्रतियोगिताहरुले पोखराको फुटबलको शाख जोगाउन सहयोग पुग्छ भने नयाँ खेलाडीहरुको उत्पादन संगै उनीहरुलाई प्रोत्सहान गर्न पनि सहयोग पुग्ने बताए ।
अग्रज खेलाडीहरुबाट सिक्न पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कार्कीले बताए । “आज हामीले सुरुवात मात्र गरेका हौं, पोखराको फुटबल जोगाउन अभियानको खाँचो छ” उनले भने–“हामी हेमजाका दुई क्लव मात्रै होइन कास्कीका सबै क्लवहरु यस्तो अभियानमा जोडिन आवश्यक छ ।”
