भुटानमा सम्पन्न किकबक्सिङ्गमा नेपालले जित्यो ६ स्वर्ण

पोखरा स्पोर्टस । भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण जितेको छ ।

टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत हात पार्न सफल भएकी छिन् ।

यहि मिति २०७९ भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत जिते । यसै गरि ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी समेत जिते ।

स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् ।

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो । उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनानै खेलाडीले स्वर्ण हात पारेका थिए ।

यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथीको आतिथ्यता प्रदान गरेको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम ब्यवस्थापकमा कशी कुमारी क्षेत्री रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close