पोखरा स्पोर्टस । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल अवलोकन गर्न केन्द्रिय संघका पदाधिकारीहरु पोखरा आउन थालेका छन् ।
असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारी स्वरुप उनीहरु पोखरा आउने क्रम बढेको हो । राष्ट्रिय प्रतियोगिताको तयारीका लागि खेल संघका पदाधिकारीहरु, प्रमुख प्रशिक्षक तथा प्राविधिक टोलीले सम्भावित खेलस्थलको अवलोकनको सुरुवात गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश कुमार गुरुङले बताए ।
खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले केही खेलस्थलको टुङ्गो लागेको प्रचार गरिए पनि कुनै पनि खेलस्थलको अहिले सम्म तय नभई सकेको बताए । उनले भने–“अहिले केन्द्रिय खेल संघका पदाधिकारीहरु, प्रशिक्षकहरु आउने क्रम जारी छ । उहाँहरुले पनि आफ्नो खेलस्थलको अवलोकन गर्दै हुनुहुन्छ । हामी भदौ १५ गते सबै खेल संघ, प्रशिक्षक र प्राविधिक सहित बसेर खेलस्थलको टुङ्गो लगाउँछौं ।”
राष्ट्रिय खेलकुद परिषदले भदौ १५ सम्म खेलस्थलको टुङ्गो लगाइ सक्ने पूर्व जानकारी दिए अनुरुपनै विभिन्न संघका पदाधिकारीहरु पोखरा आउने क्रम बढेको राखेपका निर्देशक अर्जुन विकले पोखरा स्पोर्टसलाई बताए । “पोखरा रंगशाला भित्र १९ खेलको टुङ्गो छ तर त्यस बाहेकका लागि विभिन्न जिल्ला र खेलस्थलहरुको अवलोकन गर्ने क्रम बढेको छ”, उनले भने ।
यसै क्रममा बुधबार नेपाल कव्वडी संघकी अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य तुलसा थापासहितको टोलीले खेलस्थल व्यवस्थपान उपसमितिका संयोजक गुरुङ संग छलफल गरेको छ । गोरखालगायत जिल्लाहरुको भ्रमण पश्चात पोखरा आएको कव्वडीको टोलीले अज्य जिल्लामा उपयूक्त कभर्डहल टोलीले पाउन नसकेको जनाएको छ । अध्यक्ष थापाले अव आफूहरु नवलपुर लगायत अन्य सम्भावित ठाउँको अवलोकन गर्ने बताइन ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्राष्ट्रियस्तरको मापदण्ड भित्र रहेर खेल्नु र खेलाउनु पर्ने प्रावधानले पनि धेरै खेल संघहरुले भने जस्तो गरी खेलस्थलको टुङ्गो लगाउन नसकेको बताएका छन् । वुद्धिचाल खेलका अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी समेत पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको खेलस्थलको व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिन्छन् । दुई दिन लगातार पोखरा बसेर खेलस्थलको खोजी गरेका उनले पोखराका तिन ठूला होटलहरुको नामावली राखेपमा पठाउने तयारी गरेको बताए । उनले भने–“खेलस्थल र खेलाडीको आवाश सुविधालाई समेत मध्यनजर गरी टुङ्गो लगाइनु पर्छ भन्नेमा हाम्रो जोड छ ।”
