नवौं राष्ट्रिय खेलकुद अन्तर्गत साइक्लिङ पोखरामा नै हुने, खेलस्थलको टुङ्गो लाग्यो

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन समिति र प्राविधिकसहितको टोलीले साइक्लिङ खेलका लागि सोमबार पोखरा र आसपासका सम्भाव्य खेलस्थलको अवलोकन पश्चात खेलस्थलको टुङ्गो लागेको हो ।

राखेपका सदस्यसहित खेलस्थल व्यवस्थापन समितिका संयोजक एवं साइक्लिङ संघका पदाधिकारी र प्राविधिकसहितको टोलीले साइक्लिङ प्रतियोगिताका लागि पोखरा उपयुक्त स्थान भएको दाबी गरे पछि करिव–करिव टुङ्गो लागेको जनाइएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसे लगायतको टोलीले खेलस्थलको अवलोकन गरेको थियो ।

टोलीले पोखरा–बागलुङ हाइवेस्थित हेमजाको भाइरल रोड, आर्वाको महाप्रभुधाम, मेथलाङ र शान्ति स्तुपा लगायतको क्षेत्रलाई साइक्लिङका लागि संभाव्य खेलस्थलका रुपमा अवलोकन गरेको छ । साइक्लिङ महिला/पुरुष दुबै इभेन्टका लागि रोड साइक्लिङ र माउन्टन रेस गरी २ क्याटागोरीका लागि टोलीले सम्भाव्य खेलस्थलको अवलोकन गरेको हो ।

रोड रेस साइक्लिङ अन्तर्गत पनि टाइम ट्रायल र मास रेस गरी दुई क्याटागोरीमा साइक्लिङ प्रतियोगिता हुनेछ । जसका लागि हेमजाको भाइरल रोड अन्तर्गत याम्दीदेखि फेंदीसम्मको स्पोर्टस सर्कललाई टोलीले छनोट गरेको छ भने सोही क्याटागोरीका लागि पोखरा आसपासको लामाचौर, बाटुलेचौर र महेन्द्रगुफा लगायतको स्पोटर््स सर्कललाई पनि संभाव्य साइक्लिङ स्पटको रुपमा अवलोकन गरेको छ ।

साइक्लिङकै माउन्टेन रेस अन्तर्गत क्रस कन्ट्री र डाउन हिल क्याटागोरीका लागि पोखरा आसपासका उच्चपहाडी क्षेत्र मेथलाङ र आर्वाको महाप्रभुधामको अवलोकन गरेको छ । टोलीले मंगलबार माउन्टेन रेस अन्तर्गतकै क्याटागोरीका लागि शान्तिस्तुपाको समेत अवलोकन गर्नेछ ।

माउन्टेन रेस अन्तर्गत दुई छुट्टाछुट्टै पूर्वाधारहरु जुटाउनुपर्ने हुन्छ । जस्तो क्रस कन्ट्रीका लागि ३ देखि ५ कि.मि.सम्मको ट्रयाक बनाउनुपर्ने र डाउन हिलका लागि डेढदेखि ३ कि.मि.सम्मको ट्र्याक बनाउनुपर्ने हुन्छ ।

राखेप सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका लागि पोखरामा सबै पूर्वाधार निर्माणसहित व्यवस्थापन गर्ने दाबी गरेका छन् । कुनैपनि खेलका लागि पूर्वाधार निर्माण र व्यवस्थापनमा कहीँ, कतैबाट पनि कमी हुन नदिने गुरुङको प्रतिबद्धता छ।

गुरुङ भने, ‘हालसम्म खेलस्थलबारे निर्णय भएको छैन । अबको ९/१० दिनभित्र टुंगो लाग्नेछ । तर, राष्ट्रिय खेलकुदकै लागि जतिपनि प्रक्रियाहरु थालिएका छन् । ति सबै परिणाममुखी छन् । अब, मनाङ, मुस्ताङ र लमजुङको अवलोकनपछि सबै टुंगो लाग्नेछन् ।’

नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुुन्दरलाल कक्षपतिले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका खेलहरु पोखरामै हुने प्रष्ट पारेका छन् । साइक्लिङका लागि यहाँका स्पटहरु उपयुक्त रहेको उनको जिकिर छ ।

कक्षपतिले भने, ‘साइक्लिङका लागि खेलस्थलबारे कुनै दुविधा छैन । अवलोकन गरिएका संभाव्य स्थानहरुमा साइक्लिङ प्रतियोगिता गर्न सकिन्छ। बाँकी पूर्वाधारको कुरा हो, पूर्वाधार जुटाउनेबारे हाम्रो प्रयास रहनेछ ।’

त्यस्तै, संघका सचिव देवेन्द्र बस्नेतले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका लागि हेमजाको रोड उपयुक्त रहेको बताए ।

संघको प्राविधिक प्रमुख समेत रहेका बस्नेतले भने ‘यो रोड, साइक्लिङको रोड रेस र टाइम ट्रायलका लागि पर्फेक्ट छ । चुनौती टेक्निकल पाटोको हो, त्यसलाई हामी पूरा गर्नेछौं । इभेन्टको बेलामा साइक्लिङ स्पोर्ट्स भेन्युलाई विस्तारित र व्यवस्थित गर्नुपर्छ ।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साइक्लिङ प्रतियोगिता राखेपको श्रोत, नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग र कास्की जिल्ला साइक्लिङ संघको नेतृत्वमा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।

नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको छ ।

यसैबीच, कास्की जिल्ला साइक्लिङ संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षण छनोटका लागि साइक्लिङको ५१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये ४० जना पुरुष र ११ जना महिला रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

एउटा टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा १ टोलीमा ७ सय ८ जनासम्म खेलाडी सहभागी हुनेछन् । जसमध्ये प्रतियोगितामा कुल ७ हजार ७ सय ८८ जनासम्मका खेलाडीहरु सहभागी हुनेछन् ।

यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close