
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको भलिबल रेफ्रिहरुको लागि आयोजित भेला तथा गोष्ठिमा नारायण भण्डारीको अध्यक्षतामा गण्डकी प्रदेश भलिबल रेफ्रि कमिसन गठन गरिएको छ ।

पोखरामा आइतबार आयोजित गण्डकी प्रदेश अन्तर्गत रहेका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा जिल्ला भलिबल रेफ्रिहरुको लागि आयोजित भेला तथा गोष्ठिमा भण्डारीको अध्यक्षतामा रेफ्रि कमिसन गठन गरिएको हो । उक्त कमिसनको सचिवमा लिल बहादुर गुरुङ (स्याङजा) र सदस्यहरुमा टुक बहादुर गुरुङ (तनहुँ), रमेश कुमार श्रेष्ठ (गोरखा) , अमर पुन (पर्वत) र राम पुन (कास्की) रहेका छन् । उक्त कमिसनमा बागलुङ र म्याग्दीबाट परिपुर्ती गर्न बाँकी रहेको अध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई बताए ।
नेपाल भलिवल संघले देशैभरी छरिएर रहेका भलिबल रेफ्रिहरुको अभिलेखीकरण गरी उनीहरुको क्षमता अभिवृद्धि गर्न रेफ्रि कमिसन गठन गरिएको संघका उपाध्यक्ष याम बहादुर गुरुङले जनाएका छन् । उनले भने–“अहिले संघले देशैभरी छरिएर रहेका रेफ्रिहरुको अभिलेखीकरण गर्ने कार्यलाई अघि बढाएको छ । यसले रेफ्रिहरुको संख्या संगै उनीहरुलाई आगामी दिनमा सहजिकरण र प्रशिक्षण दिन सहज हुनेछ ।”
गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय भलिबल कमिसनका अध्यक्ष तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्रि गौतम प्रसाद लासिवा, संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, क्षेत्रिय खेलकुदका डिवी नेपाली, कास्की भलिबल संघका अध्यक्ष विष्णु गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतको सहभागिता रहेको थियो ।
