पोखरा स्पोर्टस । लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्ने छ ।
कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गरिमा अभिबृद्धि गर्ने खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा गर्वको अनुभुति भएको बताउदै निजी क्षेत्रबाट पनि खेलाडीलाई प्रोत्साहन गर्ने कार्य हुनु पर्नेमा जोड दिए । प्रबन्ध निर्देशक छत्कुलीले सुमनको लगशीलता र देशलाई दिलाएको उपलब्धीका कारण पहिलो पटकलाई १ वर्षका लागि ब्रान्ड एम्बासडरमा अनुबन्ध गरेको जानकारी गराए ।
सुमनले खेलकुद र खेलाडीको महत्व बुझेर ब्रान्ड एम्बासडर बनाएकोमा लनर्स परिवारलाई धन्यवाद दिदै लनर्सको प्रवद्र्धनमा आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाए ।
सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातामा स्वर्ण जितेका थिए । एसियाली गोजुरियो कराते महासंघका रेफ्री सुमनले युरोपिन कराते जज इङल्यान्ड (डब्लुयुएमएफ) बाट उत्तीर्ण गरेको जनाइएको छ ।
लनर्सले अस्ट्रेलिया, क्यानाडा र युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि परामर्शदाता र अन्य आवश्यक कार्यमा सहयोग गर्दै आएको छ । प्रबन्ध निर्देशक छत्कुलीले खेलकुद सम्बन्धी अध्ययन गर्न र उच्च शिक्षा हासिल गर्न विदेश जाने अन्तर्राष्ट्रिय खेलाडीलाई निशुल्क परमार्शका साथै लागतमा विशेष छुट दिने बताए ।
