पोखरामा सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय स्नुकर प्रतियोगिता हुने

पोखरा स्पोर्टस । डेभिज स्नुकर क्लबको आयोजनामा आउदो भदौं १२ देखि १९ गतेसम्म पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय स्नुकर प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगितामा कास्कीबाट करिब ४८ जना सहित १ सय २८ जना सहभागि हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । उक्त प्रतियोगिता–२०७९ मा करिब १ सय २८ जना खेलाडीहरु सहभागि हुने भएका छन् । प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, वुटवल, बागलुङ लगायतको क्षेत्रबाट करिब ८० जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको संयोजक गुरुङले जनाए ।

सेमिफाईनलिष्ट (दुई जना) खेलाडीहरुलाई जनही १५ हजार १ सय ११ नगदका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ भने प्रतियोगितामा हाई हाईयस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।

जिल्ला तथा राष्ट्रियस्तरबाटै विलियार्ड, स्नुकर खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामुहिक भावनाले अभिवृद्घि गराउने उद्धेश्यले उक्त प्रतियोगिता पोखरामा गर्न लागिएको कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागर कुमार शाहीले बताए । पोखरा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित, मर्मत सम्हार, निर्माण साथै खेल क्ष्ेोत्रको विकासलाई अगाडि बढाउन उक्त प्रतियोगिताले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा विकसित गराउन, नयाँ प्रतिभाशाली खेलाडीहरु उत्पादन गरी अझ यस जिल्ला र राष्ट्रमा विलियार्ड, स्नुकर खेलको रौनक बढाउन उक्त प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

त्यसै गरी भू.पू राष्ट्रिय खेलाडीहरुको सहभागितामा विलियार्ड, स्नुकर खेलको विकास र विस्तार तथा भाइचारा वन्धुत्वको भावना अभिवृद्घि गराउन, सामाजिक, आर्थिक, शौक्षिक एवं पर्यटकीय क्षेत्रबाट विकसित यस क्षेत्रलाई खेलकूद मार्फत आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न खेलको माध्यमबाट राष्ट्रिय एकता र शान्तिको सन्देश दिन पनि उक्त प्रतियोगिता गर्न लागिएको आयोजकको दाबी छ ।

उक्त प्रतियोगिता पहिलो पटक पोखरामा हुनुले आफुहरु निकै उत्साहित भएको महेन्द्र नेपाली, मनिस लगायतका खेलाडीहरुले खुसि व्यक्त गरेका छन् । आफ्नै घर आगनमा आयोजना हुने उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी आफुहरुको प्रयास हुने उनीहरुले बताए । नवौं खेलकुदमा स्नुकरलाई समावेस गर्न उनीहरुले माग समेत गरे ।

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा हुने राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगितालाई भरपूर्ण रुपमा सहयोग गर्ने बताए । बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एव ंपृथ्बी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐन कुमार शाहीले आफ्नो टोलमा हुने उक्त प्रतियोगिताले टोलकै इज्जत र प्रतिष्ठानसंग जोडिएकोले प्रतियोगितालाई सफल पार्न आर्थिक भौतिक हरेक हिसावले सहयोग गर्ने बताए । पोखरामा करिब ७० वटा पुल क्लवहरु भए पनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथम उपाध्यक्ष राजु गुरुङले बताए ।

सो प्रतियोगिता सफल पार्न १८ लाख २८ हजार खर्च हुने तथा २१ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको प्रतियोगिताका अर्थ संकलन संयोजक प्रदीप रसाइलीले बताए । पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भए पनि र्याङकीङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए ।

युबा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका खेलकूद विकास समिति, नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोग तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रबर्द्धनमा उक्त प्रतियोगिता हुने भएको हो । पोखरा महानगरपालिका वडा नं. ८ स्थित डेभिज् स्नुकर क्लबमा सञ्चालन हुने भएको छ भने प्रतियोगिता नकआउटको आधारमा खेलाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close