
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले आफ्ना बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आन्तरिक तयारी सुरु गरेको जनाएको छ ।
संघका अध्यक्ष नविन गुरुङको अध्यक्षतामा साउन १५ गते आइतबार सम्पन्न तेश्रो पूर्ण बैठकले विभिन्न निर्णयहरु गरी नवौंको तयारी सुरु गरेको जनाएको हो । अध्यक्ष गुरुङका अनुसार बैठकले भदौ २२ गते हुने नेपाल भलिबल संघको केन्द्रिय अधिवेशनका लागि प्रतिनिधिमा संघका उपाध्यक्ष देवेन्द्र खत्री र निवर्तमान अध्यक्ष छ्याम बहादुर थापालाई छनोट गरेको छ ।

बैठकका निर्णयहरुका बारेमा जानकारी दिंदै अध्यक्ष गुरुङले संघको सल्लाहकारमा तिन जनालाई मनोनयन गरिएको बताए । जस अनुसार स्याङजा घर भई हाल अमेरिकामा रहेका पूर्व राष्ट्रिय भलिबल खेलाडी राजु केसी, पर्वत कुश्मा घर भई हाल जापानमा रहेका सुवास लामिछाने र गल्कोट बागलुङ घर भई हाल जापानमा बस्ने राम बहादुर थापालाई मनोनय गरिएको उनले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ११ वटै जिल्लाका अध्यक्षहरु संग छलफल गरी छनोट तालिका समेत बैठकले तय गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद गण्डकीको निर्देशन अनुसार भदौ ६ देखि १० गते सम्म जिल्ला छनोट प्रतियोगिता र भदौ २० देखि २५ गते सम्म प्रदेशको छनोट प्रतियोगिता गर्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।
गण्डकी प्रदेश भलिबल संघले जिल्ला र प्रदेशमा छनोट प्रतियोगिताका लागि संघका वरिष्ठ उपाध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा ५ सदस्यिय छनोट समिति गठन गरेको छ । जसको सदस्यमा गण्डकीका प्रशिक्षक रमेश केसी, संघका कार्यसमिति सदस्य कमला श्रीष, कार्यसमिति सदस्य गजेन्द्र बन र टेक्निकलका तर्फबाट नारायण भण्डारी रहेका छन् ।
बैठकले जिल्ला र प्रदेशको नविकरण आगामी भदौ ७ गते सम्म गरि सक्ने निर्णय समेत गरेको अध्यक्ष गुरुङले जनाएका छन् ।
