
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेटको सिमा र भूमिका बढाउन प्रदेशका सहभागीहरुले जोड दिएका दिएका छन् ।
काठमाण्डौमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समन्वय समितिको वैठकमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् । समन्वय समितिको बैठकमा सहभागि प्रदेशका खेलकुद र सामाजिक मन्त्रीहरु, सचिवहरु, खेलकुद परिषदका सदस्य सचिवहरुले अझै पनि नवौंको तयारीमा समन्वयको अभाव भएको कुरा औल्याउँदै राष्ट्रिय खेलकुद परिषदले खेलाडी छनोटका लागि दिएको ४९ लाख रकम कम भएको बताउँदै बजेटको सिमा बढाउन पर्ने कुरामा जोड दिएका थिए ।
बैठकमा सहभागि भएका प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले नवौंको तयारीका लागि प्रदेश खेलकुद जुटिसकेको भए पनि कर्मचारी र प्रशिक्षकहरुको व्यवस्था हुन नसक्दा प्रशिक्षणमा प्रभाव पर्न सक्ने कुरा आफूले औल्याएको बताए । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै भने–“बैठकमा अन्य प्रदेशका सहभागिहरुले समय, तयारी बजेट र समन्वय अभावको कुरा उठाएका थिए ।” उनले प्रदेशले आफ्नो तयारी संगै पोखरा रंगशालामा खेलाडीहरुले अवेर सम्म पनि सहज प्रशिक्षणका लागि सोलार वत्तिको प्रवन्धका साथै खेलाडी पोषण व्यवस्था गरेको कुराहरु बैठकमा राखेको बताए ।
यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा भएको बैठकमा मन्त्री गहतराजले राखेप अन्तर्गत जिल्लामा रहेका कर्मचारीहरुलाई नवौको तयारीमा जुट्ने गरी अघि बढाउन निर्देशन दिएको उपाध्यक्ष गुरुङले जानकारी दिए ।
यसै विच, उक्त बैठकमा सहभागि हुन हवाई मार्गबाट काठमाडौं प्रस्थान गरेका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ भने शुक्रबार बिहान यति इयरलाइन्सको जहाजमा प्राविधिक समस्या आए पछि पोखरा फिर्ता भएका थिए । उनी सहित ४५ जना सवार यति इयरलाइन्सको जहाज प्राविधिक समस्या आए पछि उडेको केही मिनेटमा नै पोखरा अवतरण गरेको थियो ।
