ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

पोखरा स्पोर्टस । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडी बुधबार छनोट भएका छन् ।

सम्बन्धित खेल संघको सिफारिसमा नेपाल ओलम्पिक कमिटीले यी खेलाडी छनोट गरेको हो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्विकृत गरेको हो । छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्टसका दीपक लामा (बि ब्वाइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजी मुनि) रहेका छन् ।

छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ । ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, विमा, स्वास्थ्य परिक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिने जनाइएको छ ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास पोख्दै भने, “छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न मद्धत गर्नेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close