‘नेपालको झण्डा विश्वमा फहराएको छु तर मुल्याङ्कन छैन’–‘सुजन’, प्रो–नेचुरल बडी बिल्डर वर्ल्ड च्याम्पियन

पोखरा स्पोर्टस । पोखराको न्यूरोड घर भई हाल अष्ट्रेलिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका बडि विल्डर हुन् । उनले पोखरामा बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा गुनासो पोखे–“नेपालको झण्डा बोकेर देशको नाम चम्काउँदै यतिधेरै मेडल जितेको छु । तर हामीजस्तो प्लेयरमा राज्यको ध्यान नपुग्दा दुःख लाग्छ ।”

यति बेला ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ ।

त्यसो त उनी आई.सि.एन.वर्ल्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वर्ल्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् । अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेको बताउँछन् । उनका पदकमात्र डेढ सयभन्दा बढी छन् ।

आगामी डिसेम्बरमा अमेरिकामा हुने नेचुरल ओलम्पियामा नेपालको प्रतिनिधित्व गर्दै जाँदै गर्दा यहाँको सरकारको ध्यानाकर्षण होस् भनी जोड दिए ।

नेचुरल बडी बिल्डरलाई औषधीहरूबाट टाढा रहने बडी बिल्डर हुन् । यसरी ६ वर्षदेखि नियमितरुपमा नेचुरल बडी बिल्डिङ च्याम्पियनहरुमा भाग लिँदै आउँदा विभिन्न प्रतियोगितामा यस्तै उपाधि जित्दा आफू नेपाली भएकोमा गर्व महसुस हुने उनले बताए ।

खेलकुदबाट देशको चिनारी विश्वस्तरसम्म पु¥याउन सहजरुपमा मद्दत मिल्ने सिल्पकारको बुझाइ छ । सन् २०२३ मा न्यूजिल्याण्डमा सम्पन्न आई.एन.बि.एन. प्यासिफिक वर्ल्ड च्याम्पियनसिपमा विभिन्न डिभिजनमा एकैपटक ९ वटासम्म गोल्ड मेडल जितेको उनको स्मरणमा ताजै छ ।

अष्ट्रेलियाको सिड्नीमा रहँदा उनले फिटनेससम्बन्धी पर्सनल ट्रेनरको रुपमा कार्यसमेत गर्दै आएका छन् । प्रो नेचुरल बडी बिल्डर प्लेयरको चिनारी बन्नु अघि उनी क्रिकेटर थिए । पोखरामै रहँदा उनी क्षेत्रीय क्रिकेट प्रतियोगितामा भाग लिएका थिए । सन् २००९ मा अष्ट्रेलिया गइसकेपछि सुरुआतका दिनमा विभिन्न सहर पुगेर क्रिकेट खेले । सन्् २०१२ मा ‘एनआरएनए नयाँ क्रिकेट क्लब’ बाट क्याप्टेनको प्रतिनिधित्वसमेत गरेका थिए ।

उनकी पत्नी सोनी गुरुङ सिल्पकार पनि तेक्वान्दोको २ डान प्लेयर हुन् । आफू यहाँसम्म आइपुग्नुमा पत्नीको निकै ठूलो साथ रहेको उनले पत्रकार सम्मेलनमा बताए । आफ्नै खर्चमा प्रतियोगितामा जानुपर्दा त्यसको सबै व्यवस्थापन उनै सोनीले गर्छिन । सिल्पकार दम्पतीका एक मात्र छोरा १० वर्षीय स्काइलर पनि तेक्वान्दो प्लेयर एवं बडी बिल्डिङ गरिसकेका छन् । यसरी उनको पारिवारिक वातावरण नै खेलमय बनेको छ । मेडल, ट्रफी, तरबारले उनको घर भरिएको छ ।

हालै नेपाल आउँदा सुजनको योगदानको कदर गर्दै उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । नेवाः मिसा पुच कास्की, नयाँ सडक सुधार समिति, टोखा नगरपालिका, नेपाल खेलकुद महासंघ अन्तर्गत उपत्यका विदेश प्रदेश कमिटी, बानेश्वर, शारीरिक सुगठन संघ गण्डकी प्रदेश कमिटी तथा कास्की जिल्ला कमिटी लगायतका संघसंस्थाले बधाई तथा सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close