
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो प्रारम्भिक तयारी सुरु गरेको छ ।

यसै क्रममा मंगलबार विभिन्न खेल संघहरु संग तयारीका लागि पहिलो भेला सम्पन्न गरेको हो । भेला बारे जानकारी दिंदै तयारी समितिका संयोजक खगेन्द्र क्षेत्रीले पहिलो चरणमा खेल संघहरुलाई नवौंको तयारीका लागि जुट्न भेला बोलाइएको बताए । उनले भने–“हामीले पहिलो चरणमा खेल संघहरुलाई कार्ययोजना, सुझाव खेलस्थल, खेलाडी र प्रशिक्षकहरुको सम्पूर्ण जानकारी सहित प्रतिवेदन माग गरेका छौं ।”
प्रदेश खेलकुद परिषदले मंगलबार विभिन्न २२ वटा खेल संघका पदाधिकारी र प्रतिनिधीहरु संग छलफल रहेको र निकै फलदायी रहेको सदस्य सचिव तेज बहादुर गुरुङले जनाए । “खेल संघहरुमा अझै पनि अभिलेख प्रणाली निकै कमजोर छ यो सुसाशनको महत्वपूर्ण पाटो समेत हो”, उनले भने–“गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको प्रतियोगितामा अधिकतम सफलता प्राप्त गर्न संघहरुको भूमिका महत्वपूर्ण हुने भएकोले पनि उनीहलाई थप जिम्मेवारी बनाउने तर्फ प्रदेश खेलकुदले छलफल गरेको हो ।”
यसै क्रममा परिषदले बाँकी खेल संघहरु संग बुधबार छलफल गर्ने परिषदका सदस्य समेत रहेका क्षेत्रीले बताए । उनले सबै खेल संघहरु संग समस्या, चुनौतीहरु र अवसर समान रहेको बताउँदै आ–आफ्नो खेलहरुलाई बदलिंदो अस्वस्थामा कसरी परिमार्जित गर्ने र खेलाडीहरुको हौसलमा कसरी अभिवृद्धि गर्ने बारे समेत छलफल गरिएको बताए । बुधबार हुने छलफलमा थप नयाँकुराहरुलाई जोड्दै संघहरुलाई परिचालन गरिने उनको भनाई थियो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको टिम छनौट, टिम तयारी, खेल मैदानको व्यवस्था तथा बन्द प्रशिक्षणलगायतका विविध विषयमा प्रारम्भिक छलफल गरेको क्षेत्रीले बताए ।
