
पोखरा स्पोर्टस । पोखरामा कास्की जिल्ला स्तरीय अन्तर विद्यालय टच रग्वी प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला रग्वी संघको आयोजना उक्त प्रतियोगिता आगामी भदौ १८ गते हुने भएको हो । प्रतियोगितामा कास्की जिल्लाका १२ विद्यालयका छात्र र छात्रा टिमको सहभागिता जनाउने अपेक्षा गरिएको संघका अध्यक्ष सुवास खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगिता तयारीका लागि कास्कीका सिनियर खेलाडी र प्रशिक्षकहरुले विद्यालयहरुसंग समन्वय गरी प्रशिक्षण गराउने संघले तयारी गरेको छ भने विद्यालय रग्वी आयोग, गण्डकी प्रदेश रग्वी संघ सह–आयोजक तथा विद्यालय संयोजन संस्थाका रुपमा रहनेछन् ।
कास्की रग्वी संघको कोषाध्यक्षमा मिलन र सदस्यमा पुजनि
कास्की जिल्ला रग्वी संघको दोस्रो साधारण सभाले सिनियर खेलाडी तथा बैंकर्स मिलन गुरुङ कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । माछापुच्छ्रे गाँउपालिकाका स्थायी बासिन्दा उनी रग्वीका सिनियर खेलाडी हुन भने हाल सानिमा बैंक बगरमा कार्यरत छन । त्यस्तै सदस्य पदमा पुजनि कार्की सर्वसम्मत निर्वाचित भएकी छन । पोखरा महानगर वडा नं. १४, भेडिफार्म निवासी कार्की रग्वी खेलाडी समेत हुन ।
के हो रग्वी खेल ?
विश्वको अत्यन्त लोकप्रिय खेल रग्वी १९औं शताब्दिमा इङ्ल्याण्डबाट सुरु भएको हो । यो सामुहिक रुपमा खेलिने कनट्याक्ट खेल हो । रग्वी फिफ्िटन्स र रग्वी सेभेन्सका रुपमा अण्डा आकारको बललाई खेलाडी अगाडी दौडिएर पछाडी पास गर्दै खेलिन्छ । बिपक्षी टिमको ट्राई एरियामा स्कोर गरिन्छ । विद्यालय स्तरमा यस खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई कन्ट्यान्ट गर्दैनन् बरु शरिर, कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन्छन् र नियममा सुरक्षित तरिकाले खेल खेलाइन्छ ।नेपालमा रग्वी खेल वि.सं. २०५२ सालमा सुरु भएको हो भने राष्ट्रिय खेलकुद परिषद्मा दर्ता नं. ३७ रहेको पुरानो खेल हो । कास्की जिल्ला रग्वी संघले पोखरा कास्कीमा बि.सं. २०७२ सालदेखी रग्वी खेलको विकासमा प्रशिक्षण र गतिविधि गर्दै आइरहेको छ ।
पोखरामा रग्वी पूर्वाधारको खोजी
विश्वकै लोकप्रिय खेलको रुपमा रग्वी खेल रहेको भए पनि पोखरामा भने यसको पूर्वाधार भने छैन । नवौं राष्ट्रिय खेलकुदमा समावेश छ । रग्वी सेभेन्स (सात जना खेल्ने) लाई नवौंमा समावेश गरिएको भए पनि यसको पूर्वाधार नहुँदा कतै स्विमिङ र सुटिङ जस्तै काठमाण्डौमा नै खेलाइने हो की भन्ने चिन्ता कास्की जिल्ला रग्वी संघलाई छ । पोखरा १७ स्थित सहारा एकेडेमीको फुटबल मैदान र पोखरा २५ स्थित गौरी शंकर खेल मैदानलाई पूर्व तयारी स्वरुप निरिक्षण गरिएको अध्यक्ष खड्काले बताए । “नवौंमा हाम्रो जोड रग्वी खेल पोखरामा नै हुनु पर्छ भन्ने हो । त्यसैका लागि हामी खेल मैदानको खोजीमा छौं”, अध्यक्ष खड्काले भने–“गण्डकी प्रदेशमा रग्वीको राम्रो सम्भावना छ । यहाँ यो खेलको विकासका लागि समेत नवौंमा पोखरामा नै रग्वी खेल हुनुपर्छ भने केन्द्रिय खेल संघले पनि खेल विकास गर्ने नै हो भने राजधानीबादको मानशिकता त्याग्नु पर्छ ।”
