गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु भएको छ ।

प्रदेश खेलकुद परिषदले प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डको तयारी सुरु भएको जानकारी दिएको हो । यहि असार २३ र २४ गते पोखरा रंगशालामा रनिङ शिल्ड अन्तर्गत हुने ६ वटा खेलहरुको तयारी सुरु गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र/छात्रा एथलेटिक्स, छात्र/छात्रा भलिबल, कव्वडी र मार्शल आर्टसतर्फ तेक्वान्दो, उशु र करातेका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन १० जिल्लाबाट जानकारी प्राप्त भइसके पनि मनाङको सहभागिता भने अनिश्चित भएको सदस्य सचिव गुरुङले जानकारी दिए । उनले भने–“वर्षाका कारण यतिबेला मनाङको यात्रा कठिन भएकोले पनि मनाङको सहभागिता बारे निश्चित भइसकेको छैन, यद्यपी हामीले प्रयास जारी राखेका छौं ।”

प्रतियोगितामा ६ खेलका करिव ६ सय भन्दा वढी खेलाडी सहभागिता हुने र प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई दुई दिने बन्द प्रशिक्षण समेत सञ्चालन गरिने सदस्य सचिव गुरुङले जानकारी दिए । उनले भने–“यद्यपी बन्द प्रशिक्षणका लागि हामी संग प्रयाप्त बजेट छैन तर हामीले राष्ट्रियस्तरमा सहभागिता हुन अघि खेलाडीहरुलाई केही नयाँ कुरा सिक्ने अवसर दिनुपर्छ भनेर बन्द प्रशिक्षणमा राख्ने निधो गरेका छौं ।”

प्रतियोगितामा उपाधि विजेता जिल्लाले नगद ३० हजार सहित आकर्षक रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले नगद २० र तृतिय हुने टिम तथा जिल्लाले नगद १० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । यसै गरी प्रत्येक इभेन्टमा विजेता टिम तथा खेलाडीले छुट्टा–छुट्टै ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

काठमाडौंमा यहि असार २८ र २९ गते हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि गण्डकी प्रदेशबाट ६ खेलका १ सय ११ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितालाई सम्पन्न गर्न परिषदले विभिन्न उपसमितिहरु गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close