
केशव पाठक,
पोखरा, पोखरा रंगशाला भित्र आफ्नै कथा र व्यथा छन । हुन त पोखरा रंगशाला भित्र पूर्वाधारका जे जस्ता काम भएका छन ति खेलकूदमा सबैका लागि उदाहरण समेत हुन । रंगशालाको पर्खाल होस वा टेनिस कोर्ट, व्याडमिन्टन कभर्ड हल होस वा स्क्वाश कभर्ड हल खेलकूदका लागि सपना बनेर ठिङ्ग उभिने कथाहरु हुन ।

रंगशाला भित्र पूर्वाधार बनेका मध्ये स्क्वाश कभर्ड हलको आफ्नै कथा र व्यथा छ । लामो समय भएको छैन स्क्वाश पोखरामा भित्रिएको । तर पोखराका स्क्वाश खेलप्रेमीहरुले आफ्नै जर्मको कसे अनि उभियो यस्तो पूर्वाधार । खर्च भयो १ करोड ३५ लाख । यो कास्की जिल्ला स्क्वाश संघले खडा गरेको यस्तो पूर्वाधार हो जहाँ राज्यको लगानी शून्य छ ।
स्क्वाश कभर्डहलमा तिन वटा कोर्टहरु छन । तर अन्तिम चरणको काम हुन बाँकीनैछ । रङ्ग रोङ्गन र लगाएत विविध । पहिलेनै कास्की जिल्ला स्क्वाश संघलाई २० लाखको ऋणको भार छ । ‘साथी भाई इष्टमित्रको सहयोगले काम त गर्यौं तर २० लाखले अझै सताएको छ’ भन्छन संघका सचिब सन्तोष घिमिरे–‘प्रदेश सरकारले काम सक्न सहयोग गर्ने भन्ने आश्वासन पाएका छौं ।’

स्क्वाश कभर्डहलका तिन वटा कोर्ट मध्ये एउटा कोर्ट नेपाल स्क्वाश तथा र्याकेट संघले ३५ लाख सहयोग गरेको छ । अहिले त्यही रकम बाट एउटा कोर्टलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइदै गरेको सचिब घिमिरेले बताए । ‘हामीलाई केन्द्रले ३५ लाख बराबरको एउटा कोर्ट बनाईदिन थालको छ, त्यही काम तिव्र गतिका साथ अगाडी बढेको’ उनले बताए । तर उक्त रकम केन्द्रले कसको मार्फत गराएको हो कास्की जिल्ला संघलाई त्यती थाहा छैन । जे होस काम हुँदैछ एउटा कोर्ट भने पनि पोखरामा अन्तर्राष्ट्रियस्तरको बन्दैछ ।
पोखरा स्क्वाश खेलका लागि उपयूक्त थलो समेत रहेको सचिब घिमिरे बताउँछन । यद्यपी यो खेल ओलम्पिकमा समावेश नभए पनि विश्वको धेरै मूलुकमा यो खेल खेल्ने गरिन्छ र यसको विश्व च्याम्पियनशिप लगाएतका खेलहरु हुँदै आएका छन । तर अन्तर्राष्ट्रिय महासंघलाई भने ओलम्पिकले मान्यता दिएको छ । तर नेपालका राष्ट्रिय खेलकूदमा भने स्क्वाश समावेश गरिएको छ ।

पोखरामा स्क्वाश खेल मौलाउँदो अवस्थामा रहे पनि हाल सम्म विद्यालयमा पुग्न भने सकेको छैन । विद्यालय सबै खेलका लागि उद्गम थलो मान्न सकिन्छ । पूर्वाधारको निर्माण सम्पन्न पछि कास्की जिल्ला संघले विद्यालयस्तरमा यो खेलमा आर्कषण जगाउन योजना बनाउने सचिब घिमिरेको भनाई छ ।
पोखरामा अहिले पनि केही व्यवसायी देखि लिएर प्रदेश मन्त्रीहरु सम्मका लागि पेट घटाउने खेलका रुपमा आर्कषण भने पक्कै बढेको छ । अर्को वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूदमा यसको सहभागिताले पक्कै नयाँ चर्चा पाउने छ । ऋणको भारमा रहेको कास्की जिल्ला स्क्वाश संघको मेहनत सबैका लागि उदाहरण त हो तर राज्यले समेत होस्टेमा हैंसे गरिदिएको भए पक्कै पनि यसमा सूनमा सुगन्ध थपिने थियो ।
