घान्द्रुकमा फागुन ६ देखि भलिबल, बास्केटबल, दौड, परम्परागत लगायतका खेलकुद प्रतियोगिता हुने

पोखरा स्पोर्ट्स । कास्कीको उत्तरी भेगमा अवस्थित लोकप्रिय पर्यटकीय गन्तव्य घान्द्रुकमा आगामी फागुन पहिलो साता ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सव फागुन ६ गतेदेखि ९ गतेसम्म घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुने सो कार्यक्रम अन्तर्गत ६ भन्दा बढि खेलकुद कार्यक्रम हुने भएका हुन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति तथा रो–धीँ क्लब कोंड (घान्द्रुक) कास्कीको संयुक्त आयोजनामा हुने महोत्सवमार्फत पर्यटन प्रवर्द्धनसँगै खेलकुद विकास गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा ढुङ्गेनी गाउँ घान्द्रुक विश्वकै दोस्रो छोटो दूरीको गन्तव्यमा सूचीकृत हुन सफल भएकाले पर्यटन गतिविधिलाई अझ उचाइमा पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

महोत्सवमा स्थानीय कला, संस्कृति र परम्परागत खेलकुदलाई विशेष प्राथमिकता दिइनेछ । मुख्य आकर्षणका रूपमा अन्तर पालिका वडा स्तरीय पुरुष भलिबल, प्रथम राष्ट्रव्यापी अन्तर पालिका खुल्ला बास्केटबल, घोडा दौड, भेडाको साड जुधाई, छेलो, रस्साकसी (महिला/पुरुष) तथा घान्द्रुक चक्रिय पदमार्ग ५.५ किमि दौड प्रतियोगिता समावेश गरिएका छन् ।

भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुने टोलीले समान रु १,६६,६६६, दोस्रोले रु १,११,१११ र तेस्रोले रु ५५,५५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा प्रथमदेखि सातौं स्थानसम्म क्रमशः रु १,०१,१११ देखि रु ५,००० रुपैयाँसम्म सम्मान प्रदान गरिनेछ ।

५.५ किलोमिटर दूरीको घान्द्रुक चक्रिय पदमार्ग दौड, छेलो तथा रस्साकसी प्रतियोगितामा समेत आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पर्यटन, खेलकुद र संस्कृतिको समन्वयमार्फत घान्द्रुकको पहिचान थप सुदृढ बनाउने विश्वास आयोजकले लिएको महोत्सव आयोजक समितिका अध्यक्ष विक्रम गुरूङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close