
पोखरा स्पोर्टस । पोखरामा जारी एथलेटिक्स खेलको (ट्यालेन्ट हन्ट) प्रतिभाको खोजी प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
एथलेटिक्स खेलाडी उत्पादनका लागि १० दिने आवाशिय सुविधा सहित प्रदेश खेलकुद परिषद गण्डकीले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न भएको हो । समापनका अवसरमा सहभागि खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य तारा थापा मगरलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै उपाध्यक्ष गुरुङले खेलाडीहरुको अन्तर निहित क्षमतालाई प्रष्फुटन गराउन प्रतिभाको खोजी कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गरे । यद्यपी यो वर्षका लागि एथेटिक्स खेलको मात्रै आयोजना भए पनि अर्को वर्षमा यस्ता कार्यक्रमहरु सबै खेल समेट्ने गरी प्रतिभावान खेलाडीहरुको खोजीका साथै उनीहरुलाई खेलमा सहभागिताको अवसर दिइने उनले बताए ।
कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव गुरुङले प्रदेश खेलकुदले यो कार्यक्रम पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको बताउँदै यो कार्यक्रमले खेलकुदमा राम्रो सन्देश प्रवाह गरेको संगै सफलतापूर्वक सम्पन्न भएको जनाए । उनले भने–“यो हाम्रो सुरुवात मात्रै हो । प्रदेशको खेलकुद विकास संगै खेलाडीबाट पदकको आशा गर्नु भन्दा पहिले उनीहरुको प्रतिभालाई निर्खान आवश्यक छ ।” उनले खेलाडीहरुले आफूले प्राप्त गरेको ज्ञान सबैलाई बाँडन र आफू जस्तै खेलाडी उत्पादनमा प्रेरित गर्न सहभागिहरुलाई आग्रह गरे ।
कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा उक्त कार्यक्रमका प्रशिक्षक एवम खेल विज्ञ सुशिल नरसिंह राणाले यो प्रशिक्षणले नेपाली एथलेटिक्स खेलका लागि नयाँ सुरुवात भएको बताए । उनले भने–“नेपालमा धेरै खेलाडीहरु ज्ञानको अभावमा पलायन भएका छन् । उनीहरुलाई एक ठाउँमा ल्याएर यस्ता कार्यक्रम गरे पक्कै पनि राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने छ ।” उनले प्रदेश खेलकुदले प्रारम्भ गरेको अभियानका लागि बधाई दिंदै सहभागिहरुलाई अझै मेहनत गर्न अनुशासनमा रहेर आफ्नो खेल प्रतिभा पदर्शन गर्न उनले आग्रह गरे ।
उक्त १० दिने प्रतिभाको खोजी कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ३७ जुनियर तथा सिनियर खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत एथलेटिक्सको मिडल एण्ड लङ्ग डिस्ट्यान्स सम्वन्धि प्रशिक्षण दिइएको थियो ।
