पोखरा स्पोर्टस अवार्ड प्रति खेलकुद मन्त्री गहतराजको चासो

पोखरा स्पोर्टस । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा स्पोर्टस अवार्ड प्रति चासो दिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीसंगको भेटवार्तामा मन्त्री गहतराजले अवार्ड कार्यक्रम सम्पन्न गर्न बिशेष चासो दिएको अध्यक्ष बरालले बताएका हुन् ।

यहीं असार १८ गते पोखरामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई मन्त्रालय एवं राखेपबाट केही न केही सहयोग गर्ने आश्वासन दिदै यस्ता अवार्डले खेलाडी तथा प्रशिक्षकहरुलाई हौसला मिल्नुको साथै खेलाडी उत्पादनमा समेत थप टेवा पुग्ने विश्वास मन्त्री गहतराजले गरे । उनले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने नवौं खेलकुद प्रतियोगिता सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको अध्यक्ष बरालको भनाई छ ।

मञ्चको टोलीले पोखरा स्पोर्टस अवार्ड बारे जानकारी दिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सहितका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु भेटघाट समेत गरेको छ । अध्यक्ष बरालको टोलीमा खेल पत्रकार सुर्दशन रन्जित, दीपक मुल्मी, हिमाल लम्साल, पत्रकार भुपराज बस्याल लगायत रहेका थिए ।

यसैबिच पोखरा स्पोर्टस अवार्डलाई सफल पार्न काठमाडौं जु जु वेयर्सले सहकार्य गरेको छ । जु जु वेयर्सका संचालक प्रदीपमान शाक्यले खेलाडी एवं प्रशिक्षकहरुलाई सम्मान गर्ने उक्त कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गर्नु भएको छ । काठमाण्डौंमा रहेको जु जु वेयर्सले नेपाली पन झल्कने नेपाली व्राण्डका कटनका टिसर्टहरु उत्पादन गर्दै आएको छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोर्टस अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close