
पोखरा स्पोर्टस । पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले कालिका स्पोर्टस माथि १–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

आइतबार जारीखेलको दोस्रो हाफमा चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५३ औं मिनेटमा गोल गरे ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर खेल मैदानमा जारी खेलमा सुरुवातदेखी नै कालिका माथि चर्च ब्वाइजले दबाब सृर्जना गरेको थियो । कालिकाले पहिलो हाफमा कुनैपनि आक्रमण गर्न सकेन । खेलको दोस्रो मिनेटमा नै चर्चब्वाइजका कप्तान मिलन राईको पासमा आसिष चौधरीले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै बाहिरियो ।
१५ औं मिनेटमा कप्तान मिलनको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको २५ औ मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिफ्लेक्ट बलमा आशिषको पासमा हेमन्तले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार समेत बचाउँ गर्दै खतरा टारे । कालिकाले भने पोष्टमा कुनै प्रहार गर्न सकेन ।
खेलको ५० औं मिनेटमा विवेक पौडेलले निशान्त खड्काकालाई दिएको पासमा निशान्त पुनः विवेकलाई वानटच पास र विवेकले पुनः निशान्तलाई दिएको वान टचपासमा गेको प्रहार बाहिरियो । खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । अशोक खवासको लामो पासलाई आशिषले नियन्त्रणमा लिदैं गरेको चिफ प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई नाघ्दै क्रसबारमा लागेर जालि चुमेको थियो ।
सुरुदेखी नै कालिकालाई दबाबमा राखेको चर्चब्वाइजको हौसला थप बढेको थियो । ६४ औं मिनेटमा आसिषले सेन्टरबाट लगेको बल कप्नात मिलन राईलाई दिएको पासमा मिलनले हेमन्त थापा मगरलाई दिएको पासमा हेमन्तले ब्याक फ्लिक गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । खेलको ५९ औं मिनेटमा मिलनको शक्तिशाली प्रहारलाई कालिकाका कप्तान जोन जुनियरले बचाउ गरे ।
प्रतियोगिता अन्तर्गत खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।
