
पोखरा स्पोर्टस । प्रतिभाको खोजी अभियान अन्तर्गत (ट्यालेन्ट हन्ट) बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले भेट गरेका छन् ।

मन्त्री गुरुङले पोखरा रंगशालामा पुगेर उनीहरुलाई भेट गरेका हुन् । सो अवसरमा मन्त्री गुरुङले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई शुभकामना दिंदै कुनै समस्या भएमा आफूले निराकरण गर्ने बताए । उनले भने–“यहाँहरुले तनमनका साथ प्रशिक्षणमा ध्यान दिनुस् हामी यहाँहरुलाई आवश्यक सहयोग गर्न तयार छौं ।”
मन्त्री गुरुङलाई प्रतिभाको खोजी अभियान अन्तर्गत प्रशिक्षण दिइरहेका खेल विज्ञ शुसिलनर सिंह राणाले जानकारी गराएका थिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, सदस्य योगेन्द्र गुरुङ, एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा ८ जिल्लाका ३८ जना जुनियर तथा एथलेटिक्स खेलाडीहरुको सहभागिता रहेको थियो ।
मन्त्री गुरुङद्वारा गल्फ एकेडेमीको निरिक्षण

मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माण भइरहेको गल्फ एकेडेमीको समेत निरिक्षण गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा करिव ५ लाख खर्च गरेर निर्माण भइरहेको उक्त एकेडेमीको बारेमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले जानकारी गराएका थिए ।
