
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
साइक्लिङ खेल संगै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।
४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारीका बारेरमा जानकारी दिंदै पोखरा महानगर खेलकुद समितिका सदस्य सचिव सुवास खड्काले प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टा–छुट्टै विद्यामा हुने जानकारी दिएका छन् ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउण्टेन बाइक एडभेन्चर हल्लनचोकमा खेलाडी दर्ता भइरहको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जनाए ।
प्रतियोगिताका लागि काठमाडौँमा साइक्लिष्ट उषा खनाललाई सम्पर्क गरेर फारम भर्न सकिने आयोजकले जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगिताले साइक्लिङलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने–“यो पहिलो प्रयास हो । हामी आगामी वर्षमा विदेशी साइकलयात्रीलाई समेत पोखरामा सहभागिता जनाउन निमन्त्रणा गराउने गरी तयारी गर्दैछौं ।”
