१९ औं एसियाली खेलकुद : भलिबल, ह्याण्डबल, ट्रायथलनमा नेपाल पराजित

पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको पराजयको यात्रा जारी रहेको छ । शनिबार सम्पन्न भलिबल, ह्याण्डबल, भारोत्तोलन, ट्रायथलनमा नेपाल पराजित भएको छ ।

भलिबल
महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो । समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।

भारोत्तोलन


हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् । स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोश्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेश्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । टीका ९० केजी तौल उठाउन असफल रहिन् ।

ट्रायथलन
ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएइ, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् ।

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको दौड जम्मा २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन् । ट्रायथलनमा नेपालबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी सहभागी छन् ।

जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते ।

ह्यान्डबल
महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।

नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसंग ६२–१० ले हारेको थियो ।

इ स्पोर्ट्स
इस्पोर्ट्सको पब्जी मोबाइलमा पदक जित्ने नेपालको आशा समाप्त भएको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना सकिएको हो । सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गरेका थिए ।  नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै डोटा २ मा पनि नेपाल पराजित भएसंगै इ स्पोर्ट्समा नेपालको चुनौती समाप्त भएको   छ । नेपाल किर्गिस्तानसंग २–० ले पछि प¥यो ।

बक्सिङ 
एसियाली खेलकुदअन्तर्गत बक्सिङको महिला ७५ केजीमुनि नेपालकी सरस्वती राना पराजित भएकी छन् । हाङझाव जिम्न्याजिममा भएको क्वाटरफाइनलमा भियतनामकी क्विन्ह डिम लुले सरस्वतीलाई ४–१ अंकले पराजित गरिन् । यससंगै बक्सिङमा नेपाली खेलकुदको यात्रा सकिएको छ । व्यक्तिगत स्पर्धामा नेपालबाट सर्वाधिक खेलाडी सहभागी भएको खेल बक्सिङ हो । बक्सिङमा १३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close