गण्डकी प्रदेशका ११ वटै जिल्लामा भलिबल संघको निर्वाचनको तयारी

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका ११ वटै जिल्लामा नेपालको राष्ट्रिय खेल भलिवल संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी सुरु भएको छ ।

नेपाल भलिवल संघले यहि असार १० गते भित्र गण्डकीका ११ वटै जिल्ला र प्रदेशमा निर्वाचन गर्न निर्देशन गरे बमोजिम नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेको हो । तालिका बमोजिम पर्वतमा असार १ गते, बागलुङ्ग र म्याग्दीमा २ गते, स्याङ्गजामा ३ गते, मुस्ताङमा ४ गते, नवलपुर र लमजुङमा ५ गते, मनाङमा ६ गते, गोरखा र तनहुँमा ७ गते र कास्कीमा ८ गते निर्वाचन हुने भएको छ ।

असार ८ गते सम्म ११ वटै जिल्लामा निर्वाचन सम्पन्न भए संगै असार १० गते गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

संघले गण्डकी प्रदेशको निर्वाचन सम्पन्न गर्न उपाध्यक्ष गुरुङको संयोजकत्वमा चार सदस्यिय समिति गठन गरेको छ । जसको सदस्यमा नेपाल भलिबल संघका सचिव रामनाथ भण्डारी, संघका सदस्य राजकुमार गुरुङ र श्रीधर शर्मा रहेका छन् ।

यता प्रदेश खेलकुद परिषद गण्डकीले समेत भलिबल संघको निर्वाचनका लागि सहयोग गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्राचार गरेको छ । प्रदेश खेलकुद ऐन २०७७ अनुसार एक जिल्लामा संघ गठन गर्न कम्तिमा तिन पालिकामा संघ गठन गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपालको खेलकुद ऐन अनुसार यहि २०७९ असार १६ गते सम्म सबै खेलकुद संघहरुको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । तर राष्ट्रिय खेलकुद परिषदले लागु भएको नयाँ खेलकुद ऐन अनुसार खेल संघहरुलाई निर्वाचन गर्न निर्देशन भने अझै दिइसकेको छैन । स्मरणिय के छ भने केही खेल संघहरुले निर्वाचन प्रक्रिया गरिरहेको र केहीले गरिसकेको हुनाले पनि अब असार १७ गते पछि के हुने भन्ने अन्यौल यथावत छ ।

नयाँ खेलकुद ऐनको प्रावधान अनुसार राखेपमा दर्ता भएका सम्पूर्ण खेल संघ असार १७ गते पछि स्वत्तः तदर्थ समितिमा परिणत हुने संगै खेलकूदमा अन्यौलता छाउने भए पछि खेलकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । जसका कारण नवौं राष्ट्रिय खेलकुदको तयारी समेत प्रभावित हुने उनीहरुले औंल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close