
पोेखरा स्पोर्टस । १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन बनाउन गैर आवाशिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले प्रतिवद्धता जनाएको छ ।
पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शुक्रबार भएको भर्चुअल छलफलमा उक्त प्रतिवद्धता जनाएको हो । छलफलमा आफ्ना भनाई राख्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले पोखरा म्याराथन संग जोडिन पाउँदा आफू गौरवान्वित भएको बताए । उनले भने –“आइ एम भेरी मच एक्साइटेड–नेपाल कै पुरानो म्याराथन संग जोडिन पाउँदा खुसी लागेको छ ।” उनले अस्ट्रेलियाभर छरिएर रहेका नेपालीहरुलाई पोखरा म्याराथनको सन्देश फैलाउने संगै आर्थिक वा भौतिक रुपले सहयोग गर्न आफूहरु आन्तरिक छलफलमा जुट्ने बताए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले विदेशमा रहेका नेपाली भावी सन्ततीहरु लाई मातृभूमी संग जोड्न खेलकुदको अहम भूमिका हुने उल्लेख गर्दै दिगो लक्ष्य प्राप्तीका लागि म्याराथनको भूमिका उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे । पोखरा म्याराथनलाई सफल बनाउन विदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण साथ रहेको उनको भनाई थियो ।
बैठकमा आफ्ना धारणा राख्दै पोखरा म्याराथन अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुुरुङले अस्ट्रेलियाबाट छरिएर रहेका नेपालीहरुलाई पोखरा म्याराथनमा सहभागिता जनाउन आफूले सक्दो प्रयास गरिरहेको बताए । धावक समेत रहेका उनले आफू पनि पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा आउन लागेको जानकारी दिंदै अस्ट्रेलियामा रहेका यूवाहरुलाई समेत सहभागिताका लागि प्रचार प्रसारको कार्यलाई तिव्रता दिएको उल्लेख गरे ।
सो अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्षद्वय देव गुरुङ, विष्णु चापागाई लगायतले पोखरा आफैमा सुन्दर पर्यटकिय शहर भएकोले पनि पोखरा म्याराथनले विश्वमा चिनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सल्लाहकार महेश गुरुङ, सेलिव्रेटी संयोजक निरज थापा लगायतले पोखरा म्याराथनले विश्वमा रहेका नेपालीहरुलाई खेलकुदप्रति आकर्षण जगाउन खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
