एथलेटिक्स प्रतिभाको खोजी कार्यक्रमको औपचारिक शुभारम्भ

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एथलेटिक्स खेलको प्रतिभाको खोजी (ट्यालेन्ट हन्ट) कार्यक्रमको आइतबार औपचारिक शुभारम्भ गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले एक कार्यक्रमका विच उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । सो अवसरमा सदस्य सचिव गुरुङले ‘पाइलट प्रोजेक्ट’को रुपमा प्रतिभाको खोजी कार्यक्रमलाई परिषदले अघि बढाएको बताए । उनले भने–“यो खेलाडी उत्पादनका लागि पाइलट प्रोजेक्टको रुपमा सुरुवात गरेका छौं” उनले थपे–“खेलकुदको फादर अफ दि गेमको रुपमा एथलेटिक्सबाट यसको शुभारम्भ गरेका हौं ।”

सदस्य सचिव गुरुङले आगामी आर्थिक वर्षबाट महिलातर्फ एथलेटिक्स सहित, मार्शल आर्टस तथा टिम इभेन्ट गरी अन्य विभिन्न खेलहरुको ट्यालेन्ट हन्ट कार्यक्रमलाई अघि बढाउने उल्लेख गरे । सहभागीहरुलाई अनुशासित भई प्रशिक्षणमा सहभागि हुन आग्रह गर्दै आफूले सिकेको सिप आफू भन्दा जुनियरहरुलाई समेत बाड्न उनले आग्रह गरे । “समाजमा खेलकुद संस्कृतिको विकास गर्न खेलाडीको अनुशासन पहिलो प्राथमिकता हो भने आफूले सिकेको सिप अरुलाई बाँड्दै नयाँ खेलाडीहरुमा उर्जा भर्ने कार्य समेत खेलाडीहरुकै हो,” उनले भने ।

१० दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रमका संयोजक एवम प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन, निर्मला बराल, विष्णुमायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, पोखरा महानगर खेलकुदका सदस्य जिवन बाटाजुलगायतको सहभागिता रहेको थियो ।

प्रतिभाको खोजी कार्यक्रम अन्तर्गत जुनियर र सिनियरतर्फका खेलाडीहरुमा पर्वतबाट ९, स्याङजाबाट ३, कास्कीबाट ६, नवलपुरबाट ४, गोरखाबाट ६, तनहुँबाट ४, लमजुङबाट ३ र बागलुङबाट २ गरी ३७ जनाको सहभागिता रहेको छ ।

सहभागिहरुलाई एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी तथा खेल विज्ञ शुसिल नरसिंह राणाले प्रशिक्षण दिनेछन् । नवौं राष्ट्रिय खेलकुद लगायत अन्य प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट एथलेटिक्स खेलको मिडल र सर्टडिस्ट्यान्सका खेलाडी उत्पादन गर्न कार्यक्रम सहायक हुने परिषदले अपेक्षा गरेको छ ।

प्रशिक्षणमा प्रदेश खेलकुदले हालै सम्पन्न गरेको सहायक प्रशिक्षकमा सहभागी एथलेटिक्स प्रशिक्षकहरु समेत सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close