
पोखरा स्पोर्टस । चीनमा आयोजना हुने १९औं एशियाली खेलकुदमा नेपालले महिला ह्याण्डबल सहित २३ खेलमा सहभागिता जनाउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले आागमी भदौ २५ देखि असोज ९ गतेसम्म हुने एशियाली खेलका लागि ह्याण्डबल सहित २३ खेल संख्या निर्धारण गरेको हो । एशियाली खेलकुदमा नेपाल महिला ह्याण्डबल पहिलो पटक समावेश गरिएको हो । १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता भएकोले एशियाली खेलकुदमा समावेश गर्न लागिएको राखेपले जनाएको छ ।
एशियाली खेलकुदमा समावेश गरिने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्राइयाथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।
यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी–२० विश्वकप खेलेको आधारमा क्रिकेटलाई समेत समावेश गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपले जानकारी गराएको हो ।
