
पोखरा स्पोर्टस । ‘पोखरा बक्सिङ च्याम्पियनसिप २०२२’ मा कास्कीका पवन गुरुङ र काठमाण्डौका सुरेन्द्र कार्की उत्कृष्ट घोषित भएका छन् ।

कास्की जिल्ला बक्सिङ संघको सहयोग तथा ओलम्पिक दिवसको अवसरमा बक्सिङका राष्ट्रिय खेलाडीद्वय सविन गुरुङ र प्रदिप गुरुङद्वारा आयोजित प्रतियोगितामा ६९ किलो तौलतर्फ भिडेका पवन र सुरेन्द्रले निर्णायक र दर्शकको मन जित्दै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यद्यपी उक्त बाउटमा कास्कीका पवनले खेल जितेका थिए ।
पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा सिनियरतर्फका ११ र जुनिएर एक गरी कुल १२ वाउटमा खुला प्रतिष्पर्धा भएको थियो । ‘सविन एण्ड प्रदिप प्रेजेन्ट्स पोखरा वक्सिङ च्याम्पियिनसिप २०२२’ मा ५२ किलो तौलतर्फ सरोज वलीले बाजी मारे । उनले युभिर्सल डिसिजनको आधारमा अनिष गुरुङलाई पराजित गरेका थिए भने सोही तौलतर्फ काजी बाबु विजेता बने । उनले मोहन गुरुङलाई पाखा लगाए ।
५७ किलो तौलतर्फ भएको दुई वाउटमा आकाश गुरुङ र अनिल पुन विजेता बने । दुई छुट्टा–छुट्टै बाउटमा आकाशले शुसिल परियार र अनिले महेन्द्र चन्दलाई पराजित गरेका थिए । ६३ किलो तौलतर्फ भने तिन वटा बाउटमा छुट्टा–छुट्टै प्रतिष्पर्धा भएको थियो । जसमा इन्द्र सुनार, नविनजङ्ग जलारी र निश्चल गुरुङ विजयी भए । उक्त बाउटमा इन्द्रले मिलन क्षेत्रीलाई, निश्चलले सागर परियार र नविनले सुनिल पुनलाई पाखा लगाए ।
६९ किलो तौलतर्फ भरत चन्द र पवन गुरुङ विजेता बने । इन्द्रले मिलन क्षेत्रीलाई, भरतले निशान गुरुङ र पवनले सुरेन्द्रलाई पराजित गरे । ७९ किलो तौलतर्फ मनिष विसीले गणेश सुनारलाई पराजित गरे । त्यसै गरी जुनियरतर्फ भएको सो म्यचामा अभिषेक नेपाली विजेता बने । उनले लक्ष्मण क्षेत्रीलाई पराजित गरेका थिए ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने खेलाडीले क्रमशः जनही नगद १५ हजार र १० हजारका साथमा मेडल र ओलम्पिकको प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ, राखेप सदस्य अर्जुन केसी, पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टाराई, संघका केन्द्रिय सदस्य वुद्ध गुभाजु, गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र पाहारी, जिल्ला अध्यक्ष सुमन श्रेष्ठ, अग्रज बक्सिङ खेलाडी विद्या मर्सानी लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख खर्च भएको आयोजक मध्येका सविन गुरुङले जनाएका छन् ।
