माउण्ट अन्नपूर्ण मावि सुजिना स्मृति थ्रि वाई थ्रि बास्केटबल उपाधि पर्वत ब्वाइज र न्यू ग्यालेक्सीले जिते

पोखरा स्पोर्टस । पोखरा नदिपुरस्थित माउण्ट अन्नपूर्ण माविद्वारा आयोजित प्रथम सुजिना स्मृति तथा दोश्रो एसइई थ्रि वाई थ्रि अन्तर विद्यालय छात्र/छात्रा बास्केटबल उपाधि पर्वत ब्वाइज र न्यू ग्यालेक्सीले जितेका छन् ।

विद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ पर्वत व्बाइज र छात्रातर्फको उपाधि न्यू ग्यालेक्सिले जितेका हुन् । सम्पन्न फाइनलमा पर्वत ब्वाइजले न्यू ग्यालेक्सीको दवदवालाई तोड्दै फाइनलमा उपाधि सहित नगद ११ हजार जित्न सफल भएको छ भने उपविजेता बनेको न्यू ग्यालेक्सीले नगद ६ हजारका साथमा ट्रफी मेडल हात पारेको छ ।

तर यता गर्ल्सतर्फ भने न्यू ग्यालेक्सीले उपाधि भिडन्तमा रेड रोजेजलाई पराजित गरेको छ । न्यू ग्यालेक्सीले उपाधि सहित नगद ११ हजार तथा उपविजेता रेड रोजेजले नगद ६ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

गत वर्ष देखि सुरु गरिएको उक्त एसइई कपलाई यस वर्ष भने गत वैशाख १८ गते सडक दुर्घटनामा परी दिवंगत भएकी आफ्नो विद्यालयकी कक्षा १२ की छात्रा सुजिना तिलिजा पुनको स्मृतिमा आयोजना गरिएको थियो । प्रतियोगितामा छात्र/छात्रा गरी २२ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ब्वाइजतर्फ पर्वत क्लवका अभिनव बराल उत्कृष्ट खेलाडी र हाई स्कोरर ग्यालेक्सीका आशिष थजाली बन्न सफल भए । यता गर्ल्सतर्फ रेड रोजेजकी सिम्रन गुरुङ उत्कृष्ट खेलाडी हुँदा न्यू ग्यालेक्सीकी रक्षा गुरुङले हाई स्कोररको उपाधि पाइन । उनीहरु सबैले जनही नगद १ हजारका साथमा ट्रफी हात पारे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई पोखरा महानगर वडा नं २ का अध्यक्ष दिवशमान प्रधानाङ्ग, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, बिध्यालयका प्रिन्सिपल सईन्द्र श्रेष्ठ, प्लस टुका संयोजक कृष्ण लम्साल, अशोक शाही, सूजिनाकी आमा मीना तिलिज़ा पुनलगायतले नगद, ट्रफी र मेडल वितरण गर्दै विद्यालयकी मेधावी छात्र सुजिनालाई स्मरणिय बनाई राख्न प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने बताएका थिए । समापन कार्यक्रम विद्यालयका अध्यक्ष गिरी प्रसाद गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close