लुम्बिनी आइपुगेका पूर्व प्रम ओलीलाई एकेडेमीद्वारा भव्य स्वागत

पोखरा स्पोर्टस । लुम्विनी पिस हाफ म्याराथन उद्घाटन गर्न लुम्विनी आइपुगेका मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भव्य स्वागत गरिएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद दिवस चैत्र २३ गते विहान आयोजना हुने लुम्विनी पिस हाफ म्याराथनको बिहिबार बिहान उद्घाटनका लागि उनी लुम्विनी आएका हुन् । भैरहवास्थित गौतम वुद्ध विमानस्थलमा बुधबार साँझ आइपुगेका पूर्व प्रधानमन्त्री ओलीलाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले स्वागत गरेका थिए ।

विमानस्थलको विशिष्ट कक्षबाट बाहिर निस्किएका पूर्व प्रधानमन्त्री ओलीलाई एकेडेमीले आयोजना गर्ने लुम्विनी पिस हाफ म्याराथन र राष्ट्रिय भेलामा सहभागि हुन आएका प्रतिनिधीहरु, खेलाडीहरु र एकेडेमीका पदाधिकारीहरुले स्वागत गरेको एकेडेमीका उपमहासचिव सूवर्ण श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिइन् ।

पूर्व प्रधानमन्त्री ओली लुम्विनी आए संगै लुम्विनी पिस हाफ म्याराथन र राष्ट्रिय भेलामा थप उत्साह आएको राखेपकी पूर्व सदस्य समेत रहेकी श्रेष्ठले बताइन् । “हाम्रो तयारी अव करिव पुरा भएको छ । हाम्रो एकेडेमीका संरक्षकज्यू समेत लुम्विनी आइपुगेपछि सबैमा उत्साह आएको छ । उहाँले भोली विहान लुम्विनी पिस हाफ म्याराथनको उद्घाटन गर्ने संगै राष्ट्रिय भेलालाई सम्वोधन गर्नु हुनेछ”, उनले भनिन्–“उहाँको सम्वोधनले नेपाली खेलकुदको जगलाई अझै बलियो बनाउन र देशैभरका खेलाडीहरुमा उत्साह जाग्नेमा हामी विश्वस्त छौं ।”

लुम्विनी पिस हाफ म्याराथनको आयोजनाले वुद्धको तपोभूमीबाट विश्वभर खेलकुद मार्फत सन्देश प्रवाहीत हुने भएकोले पनि यो कार्यक्रमलाई महत्व दिएर पूर्व प्रधानमन्त्री लुम्विनी आइपुगेको उपमहासचिव श्रेष्ठले बताइन् । उनले भनिन–“यो कार्यक्रमको राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा समेत महत्व राख्छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसले खेलकुद मार्फत विश्वमा शान्तीको सन्देश दिने छ भने खेलमार्फत पर्यटन प्रवर्द्धन तथा मुलुकको खस्किदो अर्थतन्त्र उकास्न समेत सहयोग पुग्ने छ ।”

शान्ती र समृद्धि भन्ने मुल नाराका साथ आयोजना हुने लुम्विनी पिस हाफ म्याराथनमा महिला तथा पुरुष धावकहरुको सहभागिता रहने छ । सो प्रतियोगिताका लागि देशैभरिका खेलाडीहरु समेत लुम्बिनी आइपुगेका छन् । आयोजकले धावकहरुको खाना तथा आवाशको समेत सुविधा प्रदान गरेको उपमहासचिव श्रेष्ठले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close