पोखरेली पूर्व अन्तर्राष्टिय फुटबलर ‘बसन्त’ जापानको क्लबमा आवद्ध

पोखरा स्पोर्टस । पोखरेली पूर्व अन्तर्राष्ट्रिय फुटबलर बसन्त गौचन जापानको एक क्लब संग आवद्ध भएका छन् ।

बसन्त जापानको टोकियोस्थित चोफोओच्का सकर क्लबको युथ टोलीको प्रशिक्षकको भूमिकामा आवद्ध भएका हुन् । उक्त क्लव टोकियोको युथ लिगमा सहभागिता जनाउने गर्दछ । पोखरा स्पोर्टस संग कुरा गर्दै प्रशिक्षक बसन्तले आफू उक्त क्लवमा एक वर्षका लागि आवद्ध भएको बताए । उनले भने–“म हालै चोफोओच्का संग आवद्ध भएको छु, जारी लिगमा दुई वटा खेल जितेका छौं भने एक खेलमा हार व्यहोरेका छौं ।”

जापानको टोकियोमा हुने उक्त लिग एक वर्ष भरी सञ्चालन हुने र ६० टिमको सहभागिता रहेको प्रशिक्षक बसन्तले जनाए । नेपाली फुटबलर विदेशी क्लवमा प्रशिक्षकको भूमिकामा आवद्ध हुनु महत्वपूर्ण पक्ष रहेको बताउँदै बसन्तले उक्त क्लव संगको आवद्धताको अवसरलाई चुनौतीको रुपमा हेरेको बताए । उनले भने–“यो मेरो जिवनका लागि नयाँ ढोका हो । पुरानो क्लव भएको हुनाले पनि मेरा लागि अवसर संगै चुनौती पनि छ । तर यो जारी लिगबाट मैले धेरै नयाँ कुरा सिक्न पाउनेछु ।”

पोखरा १७ ड्यामसाइडमा ४० वर्ष अघि जन्मिएका बसन्तले यूवा अवस्था १४ वर्षको उमेरबाट फुटबलमा छिरेका थिए । ड्यामसाइड यूथ क्लव हुँदै राष्ट्रिय टोलीमा समेत प्रतिनिधित्व गरेका उनी पाँचौ राष्ट्रिय खेलकुदमा तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय खेलकुदबाट खेलाडीको नेतृत्व गरेका थिए । जिल्ला, क्षेत्र हुँदै रानी पोखरी कर्नर टिम, मनाङ मर्स्याङदी क्लब, न्यु रोड टिमबाट क्लब फुटबल खेलेका थिए ।

बसन्तले सन २००९ बाट जापानलाई कर्मथलोको रुपमा रोजेका उनी एफएसीबाट प्रशिक्षकको ‘ए’ प्रो लाइसेन्स गरिसकेका छन् । करिव ७ वर्ष देखि जापानको फनरुट्स एकेडेमीमा आवद्ध उनी अहिले सञ्चालन भइरहेको लिगबाट जापानमा प्रशिक्षकको रुपमा स्थापित हुन अझै मेहनतका साथ अघि बढेको बताए । उनले एफसी ‘सि’लाइसेन्स सन २००९ मा नै इरानबाट प्राप्त गरेका थिए भने त्यस लगतै उनले सन २०१२ मा यूथ फुटबल र युरोपियन फुटबल प्रशिक्षकको लाइसेन्स समेत प्राप्त गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close