गुरुङ स्पोर्ट्स हाउस कप भलिवल मंगलबार देखि

पोखरा स्पोर्टस । गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हुदै छ । पाँच दिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चित भइसकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।

१५ लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरुको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।

गोङ्गबु बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच खेलाडी समाबेश हुने छन् । चार खेलाडी मैदानमा उपस्थित हुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भुमिका रहेको छ ।

पत्रकार सम्मेलनमा नेपाल भलीबल संघका कार्यबाहक अध्यक्ष याम गुरुङ, उपाध्यक्ष निरोज मास्के, सचिव मनबीर छन्त्याल, सदस्य राज कुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close