
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडी र प्रशिक्षक विवादको सत्यतथ्य पत्ता लगाउन पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । नेपाली फुटबलमा देखिएको घटनाक्रमको करिब दुई साता पछि एन्फाले छानबिन गर्न कार्यदल गठन गरेको हो।
कार्यदलमा पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल भिक्टर राणा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् ।
आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले समस्या पहिचान तथा सिफारिस कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलले प्रतिवेदन बुझाउन सात दिनको समय पाउनेछ । कार्यदलले तथ्य पत्ता लगाएर यस विषयमा एन्फालाई सुझाव दिने एन्फाले जनाएको छ ।
एएफसी एसियन कप २०२३ छनोटको तयारीमा हाल बन्द शिविरमा रहेका राष्ट्रिय टोलीका १० सदस्यले अप्रिल २६ मा राष्ट्रिय टोलीको बन्द शिविर छाडेका थिए । एन्फालाई ज्ञापनपत्रमा खेलाडीहरूले आफूहरूलाई शिविर छाड्न भनिएको दाबी गरेका थिए । टोलीका पदाधिकारीहरूलाई यसबारे जानकारी गराएको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पनि विवादबारे पत्र पठाएका थिए ।
