
पोखरा स्पोर्टस । आजबाट सुरु भएको पुरुष हक्की प्रतियोगितामा अन्तर्गत दोस्रो खेलमा प्रदेश नं. १ विजयी भएको छ । प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई १(० अन्तरले पराजित गरेको हो ।
रिसभ चौधरीले खेलको ५३ औ मिनेटमा गोल गर्दै प्रदेश १ लाई जित दिलाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले जित शुरुवात गरेको छ । प्रतियोगिताको उदघाटनको पहिलो खेलमा त्रिभुवन आमीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाएका हुन् । त्यसैगरि ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेका थिए ।
खेलको ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाएका थिए । प्रतियोगिताको उद्धघाटन खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ विच प्रतिस्पर्धा हुने खेल तालिका भएपनि कार्यक्रम ढिला सुरु भएकोले तेस्रो खेल अन्तर्गत गण्डकी र आर्मीविच खेल भएको थियो ।
पहिलो खेल विहान साढे ७ बजे गर्ने खेल तालिका भएपनि १२ः३० बजे सुरु भएको थियो भने दोस्रो खेल ४ः२० बाट सुरु भएको थियो । आज ३ खेल हुने भनिएपनि कार्यक्रम ढिला सुरु भएकोले २ खेल मात्रै भएको हो ।
समय अभावका कारण आज गर्न नसकिएको लुम्विनी प्रदेश र बाग्मती प्रदेश विचको खेल भोलि दिउँसो गरिने प्रतियोगिताका निर्देशक श्यामबाबु नायकले बताए । भोलि विहान ७ः३० मा सुदुरपश्चिम र गण्डकी प्रदेश विच प्रतिस्पर्धा हुने छ भने ९ः३० बजे प्रदेश नं. २ र १ विच खेल हुने छ ।
त्यसैगरि ११ः३० मा नेपाल पुलिस र कर्णाली प्रदेश विच खेल हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । समयमा खेल मैदान तयार नहुनु र खेलाडीहरुले जर्सि समयमा प्राप्त नगरेकोले खेल मैदानमा ढिला उपस्थित हुनाले प्रतियोगिता ढिला भएको निर्देशक नायकले बताए ।
