
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीको आयोजनामा सम्पन्न आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता रहेको छ ।
चीनको हाङझाउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ ।

फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको हो र यी सबैलाई यहि आउने मंगलवार बैशाख २० गते प्रदर्शनमा राखिनेछ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गर्ल्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ र उसले थप छनोट गर्दै हाङझाउमा हुने प्रदर्शनमा राखिनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले महोत्सवको उद्घाटन गर्दै प्रतीकात्मक रूपमा चित्र बनाएका थिए । उनले चित्रकला र खेलकुदबीच नजिकको सम्बन्ध रहेको समेत बताए ।
कार्यक्रममा कराँतेका मन्देकाजी श्रेष्ठ र टेबल टेनिसका मुना बासुकलाले आफूले कारेको चित्र प्रस्तुत गरेका थिए भने आफ्नो खेल खेल जीवनको अनुभवबारे बताउँदै सहभागी विद्यार्थीसँग अनुभव साटेका थिए । एनओसीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले चित्रकलाको माध्यमबाट नेपाली खेलकुदबारे नयाँ पुस्तामा जानकारी दिन पाएकोमा खुसी व्यक्त गरे ।
