
पोखरा स्पोर्टस । जननेता मदन भण्डारीको ७२ औं मदन जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी द्वारा पोखरामा आयोजित नेकोसे गण्डकी कप ५ ए साइड फुटसलको उपाधि जनसांस्कृतिक महासंघ गण्डकीले जितेको छ ।

शुक्रबार भएको फाइनलमा जनसांस्कृतिक महासंघले राष्ट्रिय यूवा संघ गण्डकी प्रदेशलाई ६–४ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै महासंघले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १५ हजार प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बन्न सफल यूवा संघ गण्डकीले नगद १० हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेकोस गण्डकीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।
दुई दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा जनसांस्कृतिक महासंघका कुमार तामाङ उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक गोलकर्ता सोही महासंघका रबिन गुरुङ बन्न सफल भए । उनले प्रतियोगितामा ७ गोल गरेका थिए । उनीहरुले जनही नगद १–१ हजार प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीहरुलाई नेकपा एमाले प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
