
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को टोलीले आज पोखरा रंगशाला सहित खेलकुद आयोजना गर्ने स्थलको अवलोकन गरेको छ ।

आागामी जेठ २२ देखि २८ गते सम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलहरुको प्राविधिक टोलीले अवलोकन गरेको हो । राखेपका विभागिय प्रमुख मधुसुदन बस्नेत सहितको टोलीले पोखरा रंगशालाका सम्पूर्ण पूर्वाधारहरु संगै स्विमिङका आयोजनाका लागि सम्भावित रहेको फिसटेल एकेडेमीको पौडी पोखरी समेत अवलोकन गरेको छ ।
नवौं राष्ट्रियका लागि पूर्वधारहरुको मर्मत सम्भार संगै कुन खेल कहाँ र कसरी गर्ने सकिन्छ भन्ने विषयमा समेत टोलीले छलफल गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा लगायत प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेल आयोजना गर्ने गरी राखेपले पूर्व तयारी थालेको छ ।
अवलोकनमा राखेप तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमाल दाहाल, पूर्वाधार निर्माण तथा मर्मतका प्राविधिक पूर्ण सिंह डंगोल लगायतको टोली रहेको थियो । टोलीले आज नै पोखरा रंगशालाको निरिक्षण सकेको छ भने पोखरा रंगशाला बाहेक अन्य पूर्वाधारहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
राखेपको हालै सम्पन्न वोर्ड बैठकले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ३८ वटा खेलहरु आयोजना गर्ने निर्णय गरिसकेको छ ।
