जुनियर राष्ट्रिय टेबलटेनिस जेठ ७ गते हुने

पोखरा स्पोर्टस । स्पिन इभेन्ट्स प्रा.लि.को आयोजनामा टेबल टेनिसका पूर्व खेलाडी स्वर्गिय मिलन श्रेष्ठको स्मृतिमा ‘प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ जेठ ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रा.लि.का अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । जुनियर ब्वाइज/गर्ल्स, क्याडेट ब्वाइज/गर्ल्स तथा यु–१२ ब्वाइज/गर्ल्स सिंगल्स स्पर्धामा खेल हुने छ । त्यस्तै पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिमा पनि सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

जुनियर/क्याडेटमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५/५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी सबै स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब, जिल्ला र क्लबका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रा.लि.का सचिव ज्याकी महर्जनले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्द राज वैद्यले जुनियर प्रतियोगिताले भविष्यका प्रतिभावन खेलाडी पहिचान गर्न टेवा मिल्ने धारणा व्यक्त गरे ।

तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close