
पोखरा स्पोर्टस । नेपालमा मोटर स्पोर्टसका लागि कार्यरत नासा नेपालको पहलमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल तथा नासा फाउन्डेसन र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा बढ्दो सवारी दुर्घटना र त्यसमा मोटरसाइकल दुर्घटना तथा त्यसको असर, सुरक्षित हेल्मेटको आवश्यकता र प्रविधि, हेल्मेट सम्बन्धी ऐन कानुन तथा दुर्घटना पछिको उद्दार, उपचार र पुनस्र्थापनाका साथै नेपालमा क्रियाशील निकायहरुको भुमिकाको वारेमा प्रस्तुतिकरण र छलफल भएको थियो ।

फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) द्वारा प्रदान गरिएको हेल्मेट समेत सो अवसरमा प्रदर्शन र वितरण गरिएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्वारा शुभारम्भ गरिएको उक्त कार्यक्रममा उनले आगामी दिनमा सडक सुरक्षा सम्बन्धी कानुन निर्माणमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन अर्याल, राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी, विश्व स्वास्थ्य संगठन नेपालका टिम लिडर डा.गम्पो दोर्जी, विश्व बैंक नेपालका बरिष्ठ यातायात विज्ञ दीपकमान सिंह श्रेष्ठ, नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्र.ना.उ.गणशेखर श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्ले, नासा फाउन्डेसनकी अध्यक्ष भगवती सेढाई र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले सुरक्षित हेल्मेट, मोटरसाइक्लिङ सेफ्टी र विभिन्न विषय प्रस्तुतिकरण गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात विज्ञ सरोज प्रधान र नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष डा. बुलन्द थापाले समेत आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र नासा नेपालका सचिव सन्तोष न्यौपाने, कोषाध्यक्ष धान्यमणि नेपाल तथा सहकोषाध्यक्ष प्रकाश कपुरी, विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागिता थियो ।
सो अवसरमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र विभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सुरक्षित हेल्मेट वितरण गरिएको थियो ।
कार्यक्रमको समापन गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा. सन्तोष पौडेलले गरेका थिए । एफआईए वर्लड काउन्सिल सदस्य गोविन्द भट्टराईले संयोजन गरेको सो कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अटोमोबाइल, यातायात पूर्वाधार, विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, मेडिकल र ट्रान्सपोर्ट विषयमा शोधार्थी, अटोमोबाइल सम्बद्ध व्यावसायिक संघ संस्थाका पदाधिकारीहरुका साथै राइडर र उपभोक्ता अधिकारकर्मीहरु समेत गरी करिव एक सय जनाको सहभागिता रहेको थियो ।
आगामी जुन महिनाको अन्तिम हप्तामा संयुक्त राष्ट्र संघमा रोड सेफ्टी सम्बन्धी विश्व सम्मेलन हुँदैछ । सो सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा ट्ु ह्विल सेफ्टी मुख्य एजेन्डा बनाइएको सन्दर्भमा सम्मेलनले राष्ट्रिय अवधारणा तयार गर्नको लागी एक समिति समेत गठन गरेको नासा नेपालले जनाएको छ ।
