
पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले पहिलो पटक पोखरामा आयोजना गरेको प्रथम नाइन ए साइड भेट्रान्स फुटबलको उपाधि संगम क्लव पोखराले जितेको छ ।
पोखरा रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंको सानो गौचरन लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जिताउन खेलको २० औं मिनेटमा लाल बहादुर खत्रीले पहिलो गोल गरेका थिए । त्यसै गरी खेलको दोश्रो हाफको ३२ औं मिनेटमा विजय गुरुङले र ३७ औं मिनेटमा सञ्जय गुरुङले टिमका लागि तेश्रो गोल गरे ।

उपाधि संगै संगम क्लवले नगद ३ लाख प्राप्त गरेको छ भने उपविजेता रहेको सानो गौचरनले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा संगम क्लवका बिजय गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद २० हजार प्राप्त गरे । त्यसै गरी उत्कृष्ट गोल रक्षकमा संगम क्लवका खिम बहादुर गुरुङ, उत्कृष्ट डिफेन्डरमा संगमका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डरमा संगमकै महेन्द्र गुरुङ र उत्कृष्ट फवार्डमा सानो गौचरनका शुक्र तामाङ घोषित भए । उनीहरुले जनही नगद १५ हजारका साथमा प्रमाणपत्र र पोशिलो आहार प्राप्त गरे । प्रतियोगिता अवधिभर ४–४ गोल गर्ने बगर भाई खलकका मनोज गुरुङ र संगम क्लवका नरेन्द्र जङ्ग गुरुङ जनही नगद ७ हजार ५ सय प्राप्त गरे ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए । समापन कार्यक्रम प्रतियोगिताका संयोजक एवम प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
यहि वैशाख २ गते बाट शुरु भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्ला र शहरहरुबाट १८ टिमको सहभागिता रहेको थियो ।
