
पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघको भोली (बुधबार) हुने निर्वाचनमा अधिवक्ता केशवराज बराल निर्वाचन अधिकृत र पर्यवेक्षकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षमा कृष्ण थापालाई तोकिएको छ ।
निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरिएको निर्वाचन अधिकृत बरालले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । उनले भने–“हामीले निर्वाचनको तयारी पुरा गरेका छौं उद्घाटन समारोह लगतै हामी निर्वाचनको तयारीमा जुट्ने छौं ।” उनले निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सहित प्रतिनिधीहरुको नामावली आफूले प्राप्त गरेको जानकारी दिंदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने गरी तयारी गरिएको बताए ।

त्यसै गरी कास्की जिल्ला फुटबल संघको निर्वाचनको लागि पर्यवेक्षकको जिम्मेवारी पाएका एन्फा उपाध्यक्ष थापाले आफूलाई केन्द्रले सुम्पिएको जिम्मेवारीलाई सहि रुपमा निर्वाह गर्ने बताए । उनले भने–“म निर्वाचनका लागि पर्यवेक्षकको रुपमा खटिएको छु” उनले भने–“निर्वाचन अधिकृत बरालजी संग मैले भेटेर छलफल गरेको छु, निश्पक्ष निर्वाचन हुने कुरामा म सबैलाई विश्वस्त पार्न चाहन्छु ।”
कास्की जिल्ला फुटबल संघमा २२ वटा क्लवहरु आवद्ध छन् । प्रत्येक क्लवको एक जना प्रतिनिधीले एक जना अध्यक्ष सहित ३ जना उपाध्यक्ष, ११ जना सदस्य (एक महिला) सहित निर्वाचित गराउन पाउने एन्फाको विधानमा उल्लेख छ भने कुनै पनि अन्य खेलकुद संघमा नेतृत्वमा गरिरहेकोले समेत उम्मेदवारी दिन नपाउने व्यवस्था रहेको छ । अध्यक्ष पदमा निर्वाचित हुने अध्यक्षले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्ने विधानमा उल्लेख छ ।
भोली हुने निर्वाचनमा कास्की फुटबल संघको नेतृत्वका लागि तिन जनाले दावेदारी प्रस्तुत गर्दैछन् । सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष समेत रहेका नविन पुन, बिनोद गुरुङ र उज्जवल रञ्जितले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । तिनै जनाले आफ्नो दावेदारी कास्कीको फुटबल विकासलाई मुख्य लक्ष्य बनाएका छन् । भोली हुने मतदानले कास्कीको फुटबलको भविष्य समेत प्रतिनिधीहरुले छनौट गर्ने नेतृत्वमा निर्भर रहने फुटबल प्रेमीहरुले बताएका छन् ।
र यो पनि पढ्नुस
कास्की फुटबल संघको निर्वाचन : तिन जना आकाँक्षी, को होला अध्यक्ष ?
